• २ साउन २०८१, बुधबार

सभामुख घिमिरेसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

blog

सभामुख देवराज घिमिरेसँग शिष्टाचार भेट गर्नुहुँदै स्वीट्जरल्याण्डका राजदूत डा. डेनियल म्यूली मोन्टेलियोन। तस्बिरः सभामुखको निजी सचिवालय

काठमाडौँ, साउन २ गते । सभामुख देवराज घिमिरेसँग बुधबार नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. डेनियल म्यूली मोन्टेलियोनले शिष्टाचार भेट गर्नुभएको छ । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हित, विकास सहयोग र संसदीय आदान प्रदानका विषयमा छलफल भएको छ । 

भेटमा सभामुख घिमिरेले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात् नेपाल र स्वीट्जरल्याण्डबिचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालले स्वीट्जरल्याण्डसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो ।

नेपालको सङ्घीय संसदमा नेपाल–स्वीट्जरल्याण्ड संसदीय मैत्री समूह गठन भएको जानकारी दिँदै सभामुख घिमिरेले  मैत्री समूहको गठनबाट दुई देशबिचको संसदीय सम्बन्ध अझ मजबुत हुँदै दुई देशबिच संसदीय सहकार्यमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो । 

‘गत महिना नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको भ्रमण गरेको गर्नुभएको छ, स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डले पनि नेपाल आउने इच्छा राख्नुभएको सुनेको छु,’ सभामुख घिमिरेले भन्नुभयो, ‘उच्चस्तरीय भ्रमणले जनतासँगको सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्नेछ ।’

सभामुख घिमिरेले कोभिड–१९ सङ्क्रमण र भूकम्पको समयमा मूल्यवान् सहयोग प्रदान गरेकोमा स्वीट्जरल्याण्ड सरकारको प्रशंसा गर्नुभयो ।

नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकोले नेपाल सरकारले त्यसको तयारी गरिरहेको बताउँदै विकास साझेदारहरूबाट श्रोत–साधन, प्रविधि लगायत आर्थिक साझेदारीको अपेक्षा गर्नुभयो । 

स्वीट्जरल्याण्डका राजदूत डा. डेनियलले विकास सहयोगको प्राथमिकतामा नेपाल रहेको बताउँदै दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो मुलुक सहयोगी हुने बताउनुभयो । 

नेपालको शान्ति प्रक्रियामा सुरुवाती चरणदेखि नै स्विस सरकारको महत्त्वपूर्ण सहयोग गरेको स्मरण गर्दै उहाँले संविधान कार्यान्वयनका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।