• २ साउन २०८१, बुधबार

वीरगञ्ज महानगरले एञ्जल बस चालकका छोराछोरीको अध्ययनको जिम्मेवारी लिने

blog

वीरगञ्ज (पर्सा), साउन २ गते । वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा पररी हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको तीनजना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ । 

राष्ट्रिय समाचार समिति (रासस)ले मङ्गलबार ‘सिमलताल पहिरोः जवाहीरको परिवारमा परेको पीडा’ शीर्षकमा घरमुली जवाहीर हराएपछि सन्तानको पालनपोषण र शिक्षामा समस्या हुने विषयमा केन्द्रित रहेर समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएको भोलिपल्टै अर्थात् आज बिहान वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एञ्जल बसका चालक जवाहीर महतोको परिवारसँग भेट गर्नुभयो । 

“बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरले लिनेछ”, नगरप्रमुख सिंहले भन्नुभयो, “जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरले योजना बनाएर कार्यान्वयन गर्नेछ ।” जवाहीरका एक छोरी र दुई छोरा छन् । महतोले चलाएको बागमती प्रदेश ०३ ०१-००ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रि बस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका-२९ सिमलताल नजिकै पहिरोमा परेर त्रिशूली नदीमा खसेको थियो । नगरप्रमुख सिंहले आजै एञ्जल बसमा सवार भएर दुर्घटनामा परेका अन्य परिवारका सदस्यलाई पनि भेट गर्दै महानगर पीडित परिवारको साथमा रहेको बताउनुभयो । रासस