• २ साउन २०८१, बुधबार

ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

blog

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर : रासस

काठमाडौँ, साउन २ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल-भारत ऊर्जा सहकार्यका विषयमा विविध छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपाल-भारतसम्बन्ध प्रगाढ र जनस्तसम्म रहेको बताउनुभयो । उहाँले नेपालको सुख्खा महिनामा भारतबाट प्राप्त विद्युतले यहाँको विद्युत् अभावलाई कम गर्न सघाउ पुर्‍याएकामा राजदूतलाई धन्यवाद दिनुभयो । भेटमा मन्त्री खड्काले वर्षाको समयमा नेपालमा विद्युत् बढी हुँदा भारत निर्यात भइरहेकाले यसले दुई देशबिचको सहकार्यलाई थप उचाइमा पुर्‍याएको बताउनुभयो । 

उहाँले भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता गरिसकेकाले यसलाई सफल कार्यान्वयन गर्न मन्त्रालयले नीतिगत पहल गरिने प्रतिबद्धता जनाउनुभयो । नेपालबाट भारतीय प्रसारण लाइन प्रयोग गरी पहिलो पटक यहाँ उत्पादित विद्युत् बङ्गलादेश निर्यात गर्न नेपाल विद्युत प्राधिकरण, बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपीसी विद्युत व्यापार निगम लिमिटेडबीच यही जुलाई २८ मा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुने भएकाले मन्त्री खड्काले राजदूतावासलाई निमन्त्रणा दिनुभयो ।

राजदूत श्रीवास्तवले मन्त्री खड्कालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दैै पारस्परिक सहयोग अभिवृद्धिका लागि भारत सरकार तयार रहेको बताउनुभएको थियो । उहाँले विद्युत् व्यापार, थप प्रसारण लाइनको विकास, हरित हाइड्रोजन उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस