• २ साउन २०८१, बुधबार

स्याङ्जा सवारी दुर्घटनाः एक वर्षमा १२ जनाको मृत्यु

blog

अर्जुन काफ्ले
स्याङ्जा, साउन २ गते ।
 जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

तीन बस, तीन जिप तथा कार, ट्याक्टर र टेम्पो दुई/दुई, एउटा ट्रक साथै मोटरसाइकल सात वटा गरी १८ वटा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक केशरबहादुर मल्लले बताउनुभयो ।

यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले यस आर्थिक वर्षमा एक करोड १० लाख ९७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा सङ्कलिन राजस्व अहिलेसम्मकै धेरै हो । पछिल्लो तीन वर्ष यता राजस्व सङ्कलन बढ्दो क्रममा छ ।

आर्थिक वर्ष २०७९/०८० मा एक करोड ७२ हजार र २०७८/०७९ मा ७० लाख ८४ हजार  राजस्व सङ्कलन भएको कार्यालय प्रमुख मल्लले बताउनुभयो ।

आब २०८०/०८१ मा ट्राफिक प्रहरीले सबैभन्दा धेरै मोटरसाइकल र सबैभन्दा कम ट्याक्टर चालकलाई कारबाही गरेको हो ।

पाँच हजार मोटरसाइकल र एक हजार १६६ ट्याक्टर  चालकलाई कारबाही गरिएको हो । यस्तै तीन हजार छ सय आठ जिप तथा कार, एक हजार ९३२ बस, एक हजार ५२४ ट्रक तथा टिप्पर र एक हजार ३८० अन्य सवारी चालक कारबाहीमा परेका छन् । 

दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउनुका साथै ट्राफिक नियमलाई कडाइका साथ पालना गराउँदा दुर्घटना कम भएको मल्लले बताउनुभयो ।

चेकजाँचका क्रममा पाँच वर्षभन्दा बढी रिन्यु/नवीकरण फेल भएका सवारीबाट मात्र २७ लाख ४५ हजार ९९६ रुपियाँ राजस्व सङ्कलन गरेको हो ।