• २ साउन २०८१, बुधबार

मालपोत कार्यालयमा राजस्व सङ्कलन

blog

मालपोत कार्यालय ताप्लेजुङ। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन २ गते। ताप्लेजुङस्थित मालपोत कार्यालयमा गतवर्ष राजस्व सङ्कलन वृद्धि भएको छ। मालपोत कार्यालयले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा राजस्व सङ्कलन वृद्धि गरेको हो।

मालपोत कार्यालय ताप्लेजुङका सूचना अधिकारी खड्ग गुरुङका अनुसार गत आवमा कुल दुई करोड ७८ लाख ८८ हजार २८६ रुपियाँ राजस्व सङ्कलन भएको छ। राजस्वबापत सङ्कलन भएको कुल रकममध्ये प्रदेशअन्तर्गत एक करोड ६१ लाख ९२ हजार ५६४ रुपियाँ छ। त्यस्तै पुँजीगत अर्थात् सङ्घअन्तर्गत एक करोड १६ लाख ९५ हजार ७२२ रुपियाँ सूचना अधिकारी गुरुङले जानकारी दिनुभयो।

अघिल्लो आर्थिक वर्षभन्दा गत आवमा ४९ लाख तीन हजार ९८९ रुपियाँ बढी राजस्व सङ्कलन भएको मालपोत कार्यालयले जनाएको छ। मालपोत कार्यालय रजिस्ट्रेसन फाँटकी कर्मचारी दुर्गा पौडेल भट्टराईले रजिस्ट्रेसन सङ्ख्या गत आवमा कम भए पनि राजस्व भने वृद्धि भएको बताउनुभयो। उहाँका अनुसार अघिल्लो आवमा प्रदेशअन्तर्गत एक करोड ३५ लाख ४१ हजार २५२ रुपियाँ र पुँजीगत राजस्व ९४ लाख ४३ हजार ४५ रुपियाँ सङ्कलन भएको थियो।

रजिस्ट्रेसन सङ्ख्या भने गत आवको एक हजार ६३९ मात्र छ। अघिल्लो आव २०७९/८० को रजिस्ट्रेसन सङ्ख्या भने एक हजार ७४८ छ। पछिल्लो समय जिल्लामा दर्जनौँ जलविद्युत् आयोजना सञ्चालनमा आउन थालेकाले गत आवमा राजस्व सङ्कलन वृद्धि भएको मालपोत कार्यालयले जनाएको छ। 

मालपोत कार्यालयका सूचना अधिकारी गुरुङका अनुसार पुँजीगत अर्थात सङ्घअन्तर्गत सङ्कलित राजस्व रकम सङ्घीय सरकारको खातामा जम्मा हुन्छ। प्रदेशअन्तर्गत सङ्कलन भएको राजस्व रकम भने ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत स्थानीय सरकारको खातामा जम्मा हुने उहाँले जानकारी दिनुभयो।