• २ साउन २०८१, बुधबार

आठबिसकोटका बाढी प्रभावितलाई तत्काल राहत व्यवस्थापन गरिने

blog

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी । फाइल तस्बिर

त्रिवेणी (रुकुमपश्चिम), साउन २ गते । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आठबिसकोट नगरपालिकाका बाढी प्रभावितलाई तत्काल राहतको व्यवस्थापन गरिने बताउनुभएको छ । आठबिसकोट-११ र १२ का बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि स्थानीयसँग छलफल गर्दै बाढी प्रभावितलाई तत्काल राहतको व्यवस्थापन गरिने उल्लेख गर्नुभयो ।

सोेमबार राति आठबिसकोट-११ को सिमबजार र वडा नम्बर १२ को झिनचौरमा आएको बाढीले मानवीयसँगै भौतिक संरचनामा क्षति पुर्‍याएको थियो । प्रभावित स्थानको अवलोकन गर्नुका साथै बाढीमा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको मन्त्रीका प्रमुख स्वकीय सचिव सुन्दर शर्माले बताउनुभयो । 

बाढीले निम्त्याएको घटनाको विस्तृत अध्ययन, उद्धार, राहत तथा व्यवस्थापनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै तत्काल सरकारले राहतको व्यवस्थापन गर्ने मन्त्री केसीले प्रतिबद्धता जनाउनुभयो । साथै घाइते भएकाहरुको उपचारमा सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । मनसुनजन्य विपत्तिबाट सुरक्षित रहन सतर्कता अपनाउन पनि उहाँले जिल्लावासीलाई आग्रह गर्नुभयो ।

सोमबार राति गिजागार खोलामा आएको बाढीले खोला किनारमा अस्थायी आवासमा बसोबास गर्ने दश वर्षीया हितमाया पुन, आठ वर्षीया धनुसा पुन र चार वर्षीया मनीषा सार्कीको मृत्यु भएको थियो । बाढीले बगाउँदा सोही ठाउँका ३८ वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता हुनुभएको छ । उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाढीका कारण नौ जना घाइते भएका छन् भने दर्जनभन्दा बढी घर क्षति भएका छन् । साथै सडक, विद्युत्, खानेपानीका पाइपमा क्षति पुग्दा स्थानीयलाई समस्या भएको आठबिसकोट नगरपालिकाले जनाएको छ । रासस