• २ साउन २०८१, बुधबार

इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचासँगै गाजामा घातक हमला

blog

गाजा, साउन २ गते । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाले घोषणा गरेको युद्धविराम योजनाको आशा पछि हमासमाथि दबाब बढाउने वाचा गरेसँगै इजरायलले बुधबार गाजामा पुनः हवाई आक्रमण गर्‍यो ।

हमासका राजनीतिक नेता इस्माइल हानियाहले इजरायलले युद्धको अन्त्य गर्न नचाहेको कारण युद्धविराम र बन्धक मुक्तिका लागि वार्तालाई जानाजान कमजोर पारेको आरोप लगाउनुभयो ।

इजरायली सेनाले २४ घण्टामा सैन्य संरचना, आतङ्कवादी पूर्वाधार, आतङ्कवादी कोष र  संरचनाहरू लाई लक्षित गरी २५ वटा आक्रमण गरेको जनाएको छ ।

सेनाले दक्षिणी गाजा सहर रफाह वरपर गुप्तचरमा आधारित गतिविधि पनि जारी राखेको जनाएको छ ।

बारम्बार हमासलाई नष्ट गर्ने वाचा गरेका नेतान्याहूले मङ्गलबार इजरायल दबाबमा परेको भए पनि उग्रवादीहरू विरुद्धको इजरायली अभियानमा कुनै कमी नहुने कुरामा जोड दिनुभएको छ ।

उहाँले यो समय दबाब अझ बढाउने, सबै बन्धकहरू–जीवित र मृत–घर ल्याउने र युद्धका सबै उद्देश्यहरू प्राप्त गर्ने समय भएको बताउनुभयो ।

गाजाको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा इजरायली आक्रमणमा अधिकांश महिला र बालबालिकासहित ५२ जना मारिएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय कार्यालय ओसिएइचएले मङ्गलबार गाजामा धेरै पटक आक्रमण गर्दा दर्जनौँको ज्यान जानुका साथै कयौँ घाइते भएको जनाएको छ ।

यस क्षेत्रको नागरिक सुरक्षा एजेन्सीले मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा भएको तीन आक्रमणमा ३० जनाको मृत्यु भएको जनाएको छ । रासस/एएफपी