• २ साउन २०८१, बुधबार

केसलिया नदीमा मोटरबोटको सफल परीक्षण

blog

फाइल तस्बिर

विराटनगर, साउन २ गते । विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा आज सफल परीक्षण गरिएको छ । बाढी र डुबानमा परेका नागरिकलाई तत्काल उद्धार गर्ने उद्देश्यले नौ लाख ७५ हजारमा मोटरबोट खरिद गरी सफल परीक्षण गरिएको महानगरले जनाएको छ । 

महानगरप्रमुख नागेश कोइरालासहितका टोलीलाई मोटरबोटमा राखेर नगर प्रहरीले परीक्षण गरेको थियो । मोटरबोट सञ्चालन भएसँगै बाढी र डुबानमा फसेका नागरिकलाई तत्काल उद्धार गर्न सहज हुने प्रमुख कोइरालाले बताउनुभयो । उक्त मोशर इन्जिन जडान नगरीकन पनि सञ्चालन गर्न सकिन्छ । विराटनगरको पूर्वमा सिङ्घीया र पश्चिममा केसलिया नदी भएकाले स्थानीयले हरेक वर्ष बाढी र डुबानको समस्या झेल्दै आएका छन् । 

महानगरसँग यसअघि रबरबोट मात्रै रहेको भन्दै प्रमुख कोइरालाले  मोटरबोट खरिद गरिएसँगै बाढी र डुबानमा फसेका महानगरवासीलाई तत्काल उद्धार गर्न सजिलो हुने बताउनुभयो । यसअघि बाढीमा फसेका नागरिकलाई उद्धार गर्न सशस्त्र प्रहरीसहित अन्य सुरक्षा निकायबाट मोटरबोट मगाउनुपर्ने बाध्यता थियो । 

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले काठमाडौँबाट खरिद गरेर ल्याइएको मोटरबोटको परीक्षण सफल भएको प्रतिक्रिया दिनुभयो । नगर प्रहरी निरीक्षक राजन पौडेलले मोटरबोट सम्बन्धी सम्पूर्ण जानकारी कम्पनीले दिएपछि नगर प्रहरीले जडान गरी सञ्चालन जानकारी दिनुभयो । नगर प्रहरीका चार जनाले बाढी र डुबानमा परेका नागरिकको मोटरबोटबाट उद्धार गर्न विशेष तालिमसमेत लिइसकेका छन् । रासस