• २ साउन २०८१, बुधबार

नाम्जुङ-घैरुङ बतासे-मनकामना सडक दुई दिनपछि सुचारु

blog

गुणबहादुर रोका

सुलीकोट, साउन २ गते । गोरखामा नाम्जुङ-घैरुङ बतासे-मनकामना सडक दुई दिनपछि सुचारु भएको छ । शनिबारदेखि परेको अविरल वर्षाका कारण सहिद लखन गाउँपालिकाको नाम्जुङ-घैरुङ बतासे सडक खण्डको वडा नम्बर ६ को खगी र ९ नम्बर वडाको गौथाले भन्ने ठाउँमा गएको ठुलो पहिरो पन्छाइएपछि सडक सुचारु भएको हो । 

४० मिटर माथिबाट खसेको पहिरोले सडक खण्डमा ढुङ्गा, माटो र ठुला रुख पन्छाउन सहिद लखन गाउँपालिकाको समन्वयमा जेसिबी प्रयोग गरी दुई दिनपछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार यस सडकबाट गोरखा सदरमुकाम हुँदै बुङकोट, नाम्जुङ, गाउँपालिकाको मुख्य कार्यालय घैरुङ बतासे र मनकामना जाने मुख्य सडक भएकाले पनि गाउँपालिकाको कुशल पहलमा २ वटा एक्स्काभेटर प्रयोग गरी बाटो खुलाइएको हो । 

नाम्जुङ-घैरुङ बतासे-मनकामना सडक खण्डमा भीषण पहिरो र सानासाना गरी एक दर्जन पहिरोको कारणले सोही सडक खण्डमा सयौँ सवारीसाधनहरू २ दिनदेखि रोकिएका छन् ।  

सहिद लखन गाउँपालिकाले यात्रुलाई ध्यानमा राखेर पहिरो पन्छाउन अग्रसरता लिएको हो । सडक सुचारु भएपछि गोरखा सदरमुकाम हुँदै विभिन्न बाहिर जिल्लाका यात्रुहरू सहिद लखन गाउँपालिकाको नाम्जुङ–बतासे सडक खण्डको बाटो हुँदै मनकामना जाने सवारीसाधनहरूको चाप बढ्न थालेको सहिद लखन गाउँपालिकाले जनाएको छ ।

छिटो र छरितो पुग्न मनकामना केबुलकार मर्मत सम्भारको लागि ५० दिन बन्द हुनु र मनकामना पुग्न सडक बन्द भएर रामशाहघाट–मनकामना सडक खण्ड भासिएका कारण लामो बाटो प्रयोग गर्नु परेको चितवनबाट मनकामना दर्शन गर्नु आउनुभएका शाहले बताउनुभयो ।  

शनिबारदेखि परेको वर्षाका कारण गोरखाका ग्रामीण इलाका चल्ने सम्पूर्ण सवारीसाधनहरू गन्तव्यमा पुग्न कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जिल्लाका अधिकांश पालिकाहरूमा पहिरोले कम क्षति पुगेता पनि गोरखाको सहिद लखन गाउँपालिकालाई भने सबैभन्दा बढी बाढी र पहिरोले क्षति पुर्‍याएको गाउँपालिकाको इन्जिनियर राजन रानाभाटले जानकारी दिनुभयो ।