• २ साउन २०८१, बुधबार

एमएच १७ विमान खसालिएको घटनामा रुस जवाफदेही

blog

अष्ट्रेलियाका विदेशमन्त्री पेनी वङ

सिड्नी, साउन २ गते । अस्ट्रेलियाले बुधबार सन् २०१४ मा झण्डै ३०० जनाको ज्यान जाने गरी मलेसियन एयरलाइन्सको एमएच १७ विमान खसालिएको घटनामा रुसलाई जवाफदेही बनाउने प्रतिबद्धता जनाएको छ ।

सन् २०१४, १७ जुलाईमा एम्स्टर्डमबाट क्वालालम्पुर जाँदै गरेको बोइङ–७७७ विमानलाई पूर्वी युक्रेनमा रूसद्वारा निर्मित हवाई मिसाइल प्रहार गरेर खसालिएको थियो ।

विमानमा सवार ३८ जना अस्ट्रेलियाली नागरिकसहित सबै दुई सय ९८ जनाको मृत्यु भएको थियो ।

क्यानबेरामा विमान आक्रमणमा मृत्यु भएकाको सम्झनामा आयोजित स्मारक समारोहमा विदेशमन्त्री पेनी वङले शोकाकुल आफन्तहरूलाई भन्नुभयो, “रुसलाई जवाफदेही बनाउने प्रतिबद्धतामा अस्ट्रेलिया विचलित हुने छैन ।”

अस्ट्रेलिया र नेदरल्यान्ड्सको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनमा रुसविरुद्ध मुद्दा चलिरहेको छ । रुसले घटनामा कुनै पनि संलग्नता अस्वीकार गरेको छ ।

विमान दुर्घटनामा आफ्ना आमाबाबु गुमाउने पल गार्डले विगत १० वर्ष निकै लामो समय रहेको र रुसलाई यस घटनाका लागि जवाफदेही बनाउनुपर्ने चाहना व्यक्त गर्नुभयो । रासस/एएफपी