• २ साउन २०८१, बुधबार

मानव अधिकारकर्मीद्वारा बाँके कारागारको अनुगमन

blog

बाँके कारागारको अनुगमनका क्रममा मानव अधिकारकर्मीहरु । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, साउन २ गते । अधिकारवादी संस्था एडभोकेसी फोरम नेपाल र इन्सेकका प्रतिनिधिहरुले संयुक्त रुपमा बाँके कारागारको अनुगमन गरेका छन्। कारागारको अनुगमन गरी अधिकारकर्मीहरुले कैदीबन्दीहरुको आधारभूत मानवअधिकार उपभोगको अवस्थाका बारेमा जानकारी लिएका हुन् । 

एडभोकेसी फोरमका लुम्बिनी संयोजक अधिवक्ता बसन्त गौतम, इन्सकेका कार्यक्रम अधिकृत सरस्वती मल्ल, अधिकृत सोम नेपाली र मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य प्रभातकुमार ठकुरीको संयुक्त टोलीले कारगारको पछिल्लो अवस्थाका बारेमा अनुगमन गरी जानकारी लिएको हो ।

अनुगमन टोलीले कारागार प्रमुख जेलर अर्जुनजङ्ग शाहसँग कारागार व्यवस्थापनको पछिल्लो अवस्थाका बारेमा छलफल गरी जानकारी लिएका थिए । अनुगमनका क्रममा ३ सय ५० जना कैदैबन्दी अट्ने क्षमताको कारागारमा हाल क्षभताभन्दा दोब्बर कैदीबन्दी राखिएको पाइएको अनुगमन सदस्य अधिवक्ता बसन्त गौतमले जानकारी दिनुभयो ।

हाल उक्त कारागारमा ४ सय ५२ जना कैदी र २ सय ४८ जना बन्दी गरी जम्मा ७ सय ६४ जना कैदीबन्दी राखिएको गौतमले बताउनुभयो । कारागारमा ६४ जना भारतीय नागरिक र १० जना ६५ वर्ष उमेर माथिका ज्येष्ठ नागरिकसमेत रहेको उहाँले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिक कैदीबन्दीलाई सामाजिक सुरक्षा भत्ताको लागि सहजीकरण गर्ने, कारागारभित्र आफ्नो धर्मअनुसारको धार्मिक संस्कार पूजा पाठ गर्ने वातावरण मिलाइएको तथा हिन्दु र मुश्लिम समुदायका कैदीबन्दीले आस्थाअनुसार पूजा आजा गर्दै आएको जेलर शाहले जानकारी गराएको अधिवक्ता गौतमले बताउनुभयो ।

गौतमका अनुसार बाँके कारागारमा दुई वटा ब्लकमा कैदीबन्दी राखिएको छ । पहिला पहिला महिला कैदीबन्दी राख्ने गरिएको बि ब्लकमा हाल पुरुष कैदीबन्दी राख्ने गरिएको छ । पछिल्लो समयमा बाँके कारागारमा महिला कैदीबन्दी राख्ने गरिएको छैन । महिला कैदीबन्दीहरुलाई बर्दिया कारागार पठाउने गरिएको छ ।

अत्यधिक गर्मीका कारण कैदीबन्दीहरुमा छिटफुट रुपमा छाला रोगको समस्या देखिएको र उनीहरुले शौचालय प्रयोग गर्न पालो कुर्नुपर्ने, कोचिएर बस्नुपर्ने, सुत्नलाई समस्या हुने गरेको केही कैदीबन्दीले गुनासो गरेको अधिवक्ता गौतमले जानकारी दिनुभयो ।

खानेपानीका लागि दुई वटा समरसेल राखिएको र स्वच्छ खानेपानीको प्रवन्ध मिलाइएको जेलर शाहले जानकारी गराएको अधिवक्ता गौतमले बताउनुभयो । कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी रहेको, नियमित स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको, विरामीको अवस्थाअनुसार नजिकै रहेको भेरी अस्पतालमा उपचारार्थ लैजाने गरिएको जेलर शाहले जानकारी गराएको गौतमले बताउनुभयो ।

बाँकेको नौवस्तास्थित क्षेत्रीय कारागार सञ्चालनमा आएपनि कारागार कार्यालय बाँकेमा दोब्बर कैदीबन्दी रहेका छन् । नौवस्ता कारागार अझै फूलफ्रेजमा सञ्चालनमा आउन नसकेको गौतमले जानकारी दिनुभयो ।