• २ साउन २०८१, बुधबार

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल कतार प्रस्थान

blog

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ।

काठमाडौँ, साउन २ गते ।  प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कतार प्रस्थान गर्नुभएको छ । 

आगामी शुक्रबारदेखि हुने अधिवेशनलाई प्रमुख अतिथिका रूपमा पोखरेलले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलको सचिवालयले जनाएको छ ।

पोखरेल पाँच दिनपछि स्वदेश फर्किने कार्यक्रम छ । पोखरेलसँगै एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा पनि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । 

अधिवेशनमा सहभागी हुन एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशङ्कर अरगरिया यसअघि नै कतार पुगिसक्नुभएको छ । अधिवेशन सम्पन्न गर्न अफसर अलि खानको संयोजकत्वमा अधिवेशन आयोजक समिति गठन गरिएको थियो ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका पदाधिकारी, महादेशीय कमिटी तथा मध्यपूर्वमा रहेका राष्ट्रिय कमिटीका अध्यक्ष अधिवेशनमा भाग लिन कतार पुग्ने कार्यक्रम छ । रासस