• १३ साउन २०८१, आइतबार

सफा र हरियाली तानसेन बनाउने लक्ष्य

blog

बिन्दु थापा

पाल्पा, साउन २ गते । तानसेन नगरपालिकालाई सफा र हरियाली बनाउने लक्ष्य राखेर योजनाहरू ल्याउने तयारी गरेको जनाएको छ । समृद्ध सांस्कृतिक तानसेन सहित संस्कृति र सम्पदाको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने उद्देश्य राखेको  नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।  श्रेष्ठले भन्नुभयो ‘सांस्कृतिक पर्यटन, नवप्रवर्तनमा आधारित उद्यम र संस्थागत सुशासनलाई प्राथमिकतामा राखी योजना तथा कार्यक्रम सञ्चालन गर्ने छ । ’ स्थानीय शासनमा जनसहभागिता अभिवृद्धि गर्दै उत्तरदायी र पारदर्शी स्थानीय सरकारको भूमिका निर्वाह गर्ने तानसेनलाई स्वच्छ, सफा, हरियाली तथा सुरक्षित र समुन्नत सहरको रूपमा विकास गर्ने  जस्ता योजना नगरपालिकाले ल्याएको छ । 

स्थानीय समाजसेवी अशोक महर्जनले तानसेनमा जात्रा–पर्व तथा सम्पदा रहेका कारण जीवन्त राख्न जाति तथा समुदाय विशेषले महिनौँ खर्च गर्न परेको बताउनुभएको छ । यसरी समुदायले रैथाने ज्ञान र सीपलाई सिक्दै र नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आउनमा समस्या भएकाले  यो सिप बिस्तारै लोप हुने अवस्थामा रहेको बताउनुभयो  । महर्जनले अब स्थानीय सरकारले भगवती मन्दिर र यहाँका अन्य ऐतिहासिक मन्दिरको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।  

पाल्पाको सदरमुकाम तानसेन आफैमा सांस्कृतिक सहर हो । यो सहर काठमाडौँ उपत्यका पछिको दोस्रो सांस्कृतिक सहरका रूपमा परिचित छ । वर्षको पहिलो दिनदेखि वर्षको अन्तिम दिनसम्म यहाँ जात्रा, चाडपर्वहरू भई रहन्छन् । त्यसैले पनि तानसेनलाई सांस्कृतिक सहर भनिएको हो । 

सस्कृतविद निर्मल श्रेष्ठले तानसेनका पर्वहरूको प्रचार–प्रसार हुन नसकेको कारणले यहाँका ऐतिहासिक जात्रा र पर्वहरू लोप हुने हुनकी भन्ने चिन्ता भएको बताउनुभयो । 

तानसेन बजार नेवारी समुदायको बाहुल्य भएको सहर हो । यहाँ घरैपिच्छे मन्दिर तथा देवालय छन् । वर्षको सुरुआतमा मनाइने बटुक भैरव जात्रादेखि लिएर अन्तिममा मनाइने चैतेदसैँ जात्रा गरी यहाँ वर्ष भरी नै जात्रा चलिरहन्छ । संस्कृतिले ओतप्रोत तानसेनमा मौलिक परम्परा  बचाइराख्न नगरपालिकाले मठ मन्दिर संरक्षण र संवर्धनका लागि बजेट विनियोजन गरेको छ । 

तानसेनमा गणेश जात्रा र बाघ जात्रा ,बाघ जात्रा ,चुइँकी, गाई जात्रा, रोपाइँ जात्रा,  नारायण जात्रा र भगवती जात्रा हुँदै आएको छ । 

ऐतिहासिक महत्त्व बोकेका जात्रा निकाल्ने मठमन्दिर जीर्ण हुँदै गएको ,संरक्षणको अभावमा कतिपय इतिहास बोकेका सम्पदाहरू समेत लोप भइसकेमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । इतिहास बोकेका परम्परा र संस्कृतिको संवर्धनमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले ध्यान दिनुपर्ने बताउँदै तानसेनवासीले नगरपालिकालाई सार्वजनिक सुनुवाइ कार्यक्रममा सुझाव दिएका छन् ।