राधा लुइटेल
फिदिम, साउन १ गते। नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले मुलुकका ठुला दुई दल मिलेर सरकार बनाउनु राम्रो भएको बताउनुभएको छ।
पाँचथरको फिदिममा पुग्नु भएका आङदेम्बेले यहाँबाट सञ्चालित डिजिटल पत्रिका सुम्हात्लुङ टाइम्सको पहिलो वार्षिकोत्सवमा प्रमुख अतिथिको आसनबाट बोल्दै यस्तो बताउनुभएको हो।
कांग्रेस एमाले र माओवादीले पटक-पटक सत्ता साझेदारी गरे पनि सरकारले स्थिरता नपाउँदा मुलुकले क्षति व्यहोर्नु परेको उहाँको टिप्पणी थियो।
दलहरूले सत्तालाई केन्द्रमा राखेर पटक-पटक समीकरण बदल्दा धेरै शीर्ष नेताले पटक-पटक प्रधानमन्त्री र सांसदले मन्त्री बन्ने अवसर पाए पनि देशमा सकारात्मक परिवर्तन आउन नसकेको आङदेम्बेले बताउनुभयो।
संविधान संशोधनका नाममा थ्रेस होल्डलाई साँघुरो बनाउनु नहुने उहाँको भनाइ छ।
‘अबको सरकार कम्तीमा प्रतिनिधि सभाको अवधि रहुन्जेल टिक्नुपर्छ तर संविधान संशोधनका नाममा थ्रेस होल्डलाई अत्यन्तै साँघुरो बनाउन तिर लागे साना दललाई अन्याय हुन्छ’, उहाँले भन्नुभयो।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                