• १ साउन २०८१, मङ्गलबार

जग्गा कारोबार बढेसँगै भद्रपुर मालपोतमा राजस्व वृद्धि

blog

भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर ।

भद्रपुर (झापा), साउन १ गते । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा ८० करोड ५८ लाख १४ हजार पाँच सय ९२ राजश्व सङ्कलन गरेको छ । ३६ हजार आठ सय ७५ थान रजिस्ट्रेसन पारितबाट उक्त आम्दानी भएको हो । 

आव २०८०/८१ मा स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट सुरु भएसँगै जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताउनुभयो । “गत आव २०७९/०८० को तुलनामा २२ करोड १२ लाख ६९ हजार एक सय ९९ ले राजस्व वृद्धि भएको छ”, उहाँले भन्नुभयो । गत आवमा ५८ करोड ४५ लाख ४५ हजार तीन सय ९३ राजस्व सङ्कलन भएको थियो ।  

आर्थिक वर्ष २०८०/०८१ मा सेवा करबापत सात करोड ५१ लाख ३९ हजार चार सय ७६, रजिस्ट्रेसन दस्तुरबाट ४७ करोड ३० लाख ३० हजार पाँच सय ५४, छुटबापत छ करोड २७ लाख ८७ हजार छ सय १२, डोर सुविधा शुल्क एक लाख ८९ हजार, पुँजीगत लाभकर ३२ करोड एक लाख २५ हजार दुई सय ६७ र विलम्ब शुल्कबापत एक लाख १७ हजार नौ सय छ राजस्व सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो । रासस