• १ साउन २०८१, मङ्गलबार

पूर्वसचिवसँग सहकारी संसदीय छानबिन विशेष समितिको छलफल

blog

काठमाडौँ, साउन १ गते । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आज पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ । समितिले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्वय गोपीनाथ मैनाली र डा.दामोदर रेग्मीसँग छलफल गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिनुभयो ।

सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी सङ्कटलगायत विभिन्न संरचनाको कानुनी एवम् व्यावहारिक अभ्यास र अनुभवका सम्बन्धमा छलफल भएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार आवश्यक कागजात मागिएका निकायका सम्पर्क व्यक्तिसँग फलोअप गर्ने, देशभरि राम्रोसँग सञ्चालन भइरहेका सहकारीसँग प्रतिनिधिमूलक छलफल गर्ने, विभिन्न व्यक्तिसँग गरिने सोधपुछको प्राविधिक तयारी र व्यवस्थापन गर्ने, सहकारी संस्थाका लेखापरीक्षकको अनुभवमा आधारित छलफल गर्ने निर्णय गरिएको बताउनुभयो । रासस