• १ साउन २०८१, मङ्गलबार

परराष्ट्रमन्त्री डा. देउवाद्वारा पदभार ग्रहण

blog

पदभार ग्रहण गर्नुहुँदै पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा। तस्बिर : केशब गुरुङ

काठमाडौँ, असार ३१ गते। पराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै उहाँले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो। 

नेपाली कांग्रेसकी नेत्री डा. देउवा लामो समयदेखि नेपाली कांग्रेसको नेतृत्व तहमा रहेर काम गर्दै आउनुभएको छ। उहाँ संविधान सभा सदस्य, नेपाली कांग्रेसको केन्द्रीय सदस्य भइसक्नुभएको छ। उहाँसँग सामाजिक क्षेत्रमा रहेर महिला, बालबालिकाको हकहितका क्षेत्रमा पनि निरन्तर काम गर्दै आएको अनुभव छ।

प्रतिनिधि सभा सदस्य डा. राणाको जन्म वि.सं. २०१८ माघ १३ गते भएको हो। उहाँ एक वर्षदेखि कृषि, सहकारी र प्राकृतिक स्रोतसम्बन्धी संसदीय समितिको अध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ। 



सन् १९९६ मा कांग्रेसमा प्रवेश गर्नुभएका डा. राणा २०२१ डिसेम्बरदेखि पार्टीको निर्वाचित केन्द्रीय सदस्य हुनुहुन्छ।  

उहाँ २०१० देखि नेपाली कांग्रेसको पार्टी महाधिवेशन र केन्द्रीय समिति सदस्य हुनुहुन्छ। उहाँले सन् २०१० देखि २०२० सम्म दश वर्ष नेपालको संविधानसभा र संसद्को सदस्यको रूपमा कार्य गर्नुभयो।  

यसैगरी, उहाँ संविधान मस्यौदा समितिको सदस्य र महिला संसदीय समन्वय समितिको अध्यक्ष हुनुभयो। उहाँले संविधान लेखन कार्यमा सबै तहमा महिलाको हक, विशेषगरी प्रजनन अधिकार, समान नागरिकता, समान सम्पत्तिको हक, महिलामाथि हुने हिंसा र समतामूलक तथा समान राजनीतिक प्रतिनिधित्वको विषयमा आवाज उठाउनुभयो। 

उहाँ लैङ्गिक अभियन्ता र सामाजिक कार्यकर्ता हुनुहुन्छ। डा. राणाले नेपालमा आरयुडब्लूयुसी, साथी, एसएमएनएफ लगायत महिला तथा बालबालिकासँग सम्बन्धित गैरसरकारी संस्था स्थापना गर्नुभएको छ। 

उहाँ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुनुहुन्छ।