• १९ असोज २०८१, शनिबार

‘वर्षातमा खानेपानी तथा सरसफाइमा ध्यान दिऊँ’

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौँ, असार २३ गते । विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो । यो समयमा विभिन्न सङ्क्रामक रोगको जोखिम बढी हुने भएकाले मन्त्रालयले यस्तो आग्रह गरेको छ । 

मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले वर्षातको समयमा झाडा–पखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकीजस्ता पानीजन्य, सङ्क्रमण रोगको जोखिम बढी हुने बताउनुभयो । उहाँका अनुसार यस्ता रोगबाट बच्न खानपिन तथा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । 

उहाँले पानी क्लोरिन, झोल वा ट्याब्लेट हालेर वा उमालेर पानीलाई शुद्धीकरण गरेमात्र पिउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “यस्ता रोगबाट बच्न शुद्धीकरण गरेको सफा भाँडामा छोपेर राखेको पानी पिउने, सडेगलेका, बासी, झिँगा भन्केका खानेकुरा नखाने, काँक्रो, गाजर, फलफूलजस्ता काँचै खान मिल्ने खानेकुरा राम्ररी धोएर खाने गर्नुपर्छ ।” 

जथाभाबी दिसा पिसाब नगर्ने, र नगराउने, चर्पीमा मात्र दिसा पिसाब गर्ने गराउने र बच्चाको दिसालाई चर्पीमा विसर्जन गर्न उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “रोग लाग्नबाट बच्न खाना पकाउनुअघि, खाना खानुअघि, बच्चालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि र बच्चाको दिसा धोएपछि साबुनपानीले मिचिमिची हात धुनुपर्छ ।” 

फोहोरलाई सधैँ निश्चित ठाउँमा सही तरीकाले व्यवस्थापन गर्न र खोक्दा हाच्छ्युँ गर्दा सफा कपडाले नाकमुख छोप्न उहाँको सुझाव छ । झाडापखाला, हैजा आउँ, निमोनिया रुघाखोकी तथा टाइफाइडजस्ता पानीजन्य रोगको लक्षण देखिएमा हेलचेक्राई नगरी तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न उहाँको सुझाव छ।