• १९ असोज २०८१, शनिबार

बाढीले दुई काठे पुल बगायो

blog

सुलीकोट समाचारदाता 

सुलीकोट, असार २३ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७, छेकेम्पारस्थित नाकी खोला र लार खुनग्युको खोलामा रहेको काठे पुल बाढीले बगाएको छ । शुव्रmबारदेखि परेको भीषण वर्षाले गोरखा जिल्लाका विभिन्न ठाउँमा सामान्य क्षति भए पनि चुमनुब्रीको–७, छेकम्पारमा भने ठुलो क्षति पु-याएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । उहाँका अनुसार काठे पुलको बाटो भएर छेकाम्पारको लामा गाउँ, राखेन गुम्बा गाउँ, लार्के गाउँ र छुर्पे गाउँ जाने मुख्य बाटोको काठे पुल बगाउँदा त्यस गाउँका सात सय जना जनसङ्ख्यालाई प्रत्यक्ष प्रभाव परेको छ । 

सोही ठाउँमा रहेको चुमनुब्री–७ लामागाउँबाट बुढीगण्डकी पुग्ने सियार खोलाको झलुङ्गे पुलको दुवै साइडको भूभाग बाढीले बगाएपछि झलुङ्गे पुल जोखिममा परेको गाउँपालिकाको अध्यक्ष लामाको भनाइ छ । निरन्तर वर्षा भइरहेकाले थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र गाउँपालिकाले चुमनुब्री वासीलाई सचेतना गराउने काम गरिरहेको छ । साथै गाउँपालिका भित्र जोखिम बढी हुने भएकाले सचेत रहन गाउँपालिकाले शुक्रबार सूचनासमेत जारी गरेको छ । 

यसै गरी मनाङ समाचारदाताका अनुसार दुई दिनदेखिको लगातार वर्षाका कारण मनाङको जनजीवन प्रभावित बन्न पुगेको छ । मस्र्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेमा रहेको पुलको सतह छुन लागेको छ भने ताल गाउँमा पानीको सतह बढ्न गई मस्र्याङ्दी नदी वारपारसम्मै जलमग्न भएको छ । बर्सातका कारण विभिन्न ठाउँमा सडक भत्किने, पहिरो जाने भएको छ । सावधानी र उच्च सतर्कता अपनाएर यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध छ । कहीँकतै विपत्तिमा परी समस्या परेको छ भने नजिकको स्थानीय जनप्रतिनिधि, प्रहरी (१००), स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार मातहतका निकायमा खबर गर्न पनि कार्यालयले अनुरोध गरेको छ । हालसम्म बाढीबाट मनाङमा मानवीय तथा भौतिक क्षति भएको छैन । 

सोमबारदेखि लगातार परेको वर्षाका कारण तिमाङ खोलामा आएको बाढीले काठे पुल बगाउँदा डुम्रे–बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध छ । खोलाको बहाव नघट्दासम्म उक्त सडकमा सवारीसाधन नचलाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

बाढीपहिरोका कारण सडक मात्र नभई मनाङमा विद्युत्, खानेपानी सेवा पनि ठप्प हुन्छ । सदरमुकाम चामेमा समय समयमा सञ्चार सम्पर्क टुट्ने समस्या छ ।

सडक अवरुद्ध हुँदा जिल्लामा खाद्यान्न, औषधि, इन्धनलगायतका अत्यावश्यक वस्तुको अभाव हुने गरेको छ । स्थलमार्ग डुम्रे–बेँसीसहर–चामे सडक सञ्चालन गर्न सकस हुँदै आएको छ । बिरामीलाई उपचारका लागि अस्पताल पुग्न निकै कठिन हुन्छ । ‘वर्षामा जोखिम र सकसपूर्ण अवस्था मोल्नु पर्छ’, मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले भन्नुभयो । सो अवधिमा सबैभन्दा बढी सकस खाद्यान्न ढुवानी गर्न हुने गरेको उहाँको भनाइ छ ।