• १२ मंसिर २०८१, बुधबार

पहिरो र बाढीले पृथ्वीराजमार्गको दमौली–कोत्रे सडक अवरुद्ध

blog

पृथ्वीराजमार्गको डुम्रेमा खसेको पहिरो। तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असार, २२ गते। तनहुँमा परेको अविरल वर्षाले ठाउँ ठाउँमा गएको पहिरोले पृथ्वीराजमार्ग दमौली–कोत्रे सडकखण्ड अवरुद्ध भएको छ। 

शनिबार बिहानदेखि परेको अविरल वर्षाले गर्दा म्याग्दे गाउँपालिका–६ को मौरीबास र शुक्लागण्डकी नगरपालिका–७ को सेरा स्थित कल्भट बगाएकोले यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो।

पानी पर्नेक्रम नरोकिएकोले धेरै ठाउँमा पहिरो खसिरहेकोले जोखिम रहेको ट्राफिक प्रमुख पौडेलले जानकारी दिनुभयो। शनिबार बिहान आँबुखैरेनीमा र डुम्रेबजारमा खसेको पहिरो हाल पन्छाइएको भएपनि पहिरो खस्ने जोखिम नै रहेको उहाँले बताउनुभयो। 

पहिरो जोखिम रहेकोले सकभर यात्रा नर्गन र गर्नै परेको अवस्थामा सतर्कता अपनाउनु आग्रह गरिएको पौडेल बताउनुहुन्छ।

विस्तारको क्रममा रहेको पृथ्वीराजमार्ग अन्तर्गतको पश्चिम खण्ड तथा पूर्वी खण्डका डोजरको प्रयोग गरेर अवरुद्ध सडक सुचारु गर्न पहल भइरहेको प्रहरीले जनाएको छ। 

पृथ्वीराजमार्ग पूर्ण रूपमा अवरोध भएकोले वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ। प्रशासकीय अधिकृत विकास श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।