• १९ असार २०८१, बुधबार

वर्षायाममा आफ्नो सौन्दर्य बढाउँदै रारा ताल (फोटो फिचर)

blog

मुगुको मनोरम रारा ताल । तस्बिर : ललित बसेल

ललित बसेल

सुर्खेत, असार १७ गते । कर्णाली प्रदेशको मुगुको छाँयानाथ रारा नगरपालिकामा अवस्थित छ देशकै सबैभन्दा ठुलो रारा ताल । वर्षायाम लागेसँगै राराको सौन्दर्य बढ्दै गएको छ । रारा ताल वरिपरि हरियाली बढ्दै गएको छ भने पहेँला र सेता फूल फुलेर ताललाई थप मनमोहक बनाएको छ । 

अहिले रारा ताल अवलोकन गर्न आउनेहरूको सङ्ख्या बढ्दै गएको स्थानीयको भनाइ छ । असारको पहिलो साता पानी नपर्दा दैनिक सयौँ आन्तरिक पर्यटक राराताल पुग्ने गरेका थिए । जल तथा मौसम विज्ञान विभाग काठमाडौँले २०७९ भदौ १३ गते गरेको तालको व्याथेमेट्री सर्वेअनुसार रारा ताल समुद्री सतहबाट २९ सय ७० मिटर उचाइमा अवस्थित छ । 

यस्तै, तालको लम्बाई अधिकतम लम्बाई ५.२ किलोमिटर, चौडाइ २.७ किलोमिटर र गहिराई १६९.९३० मिटर रहेको छ । तालले १०.६२७ वर्ग किमी क्षेत्रफल ओगटेको छ । वर्षा हुनुअघि सबैले हतारमा रारा ताल अवलोकनको योजना बनाउँदै यात्रा गरेका छन् । तालमा दैनिक आधा दर्जन बढी बोट सञ्चालन हुन्छन् । 

दिउँसो १२ बजेपछि हावा चल्ने हुँदा बोट सञ्चालन हुन सक्दैन । बोट चालक लोकेन्द्र भामले बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म करिब १० पटक ढुङ्गा सञ्चालन हुने बताउनुभयो । बोटबाट ताल पारी पुग्न ४५ मिनेट लाग्छ । प्रतिव्यक्ति पाँचसय रुपियाँ शुल्क लिने गरिएको छ । त्यही शुल्कबाट बोट सञ्चालकको जोहो हुने गरेको छ । बोट चढेर पनि तालको सौन्दर्ययता लिन सकिन्छ । 

यसैगरी रारा तालमा घोडा सवार पनि अर्को महत्त्वपूर्ण मनोरञ्जन लिने अवस्था हो । मिलीचौरदेखि रारा ताल करिब पाँच किलोमिटर पुग्न घोडामा एक हजार शुल्क लिने गरिएको छ । यस्तै, घोडामा फोटो खिच्न मात्र एकसय रुपियाँ लिने गरिन्छ भने अवस्था हेरेर तीनसय रुपियाँ पनि लिने गरिएको घोडा सञ्चालक विजय भामले बताउनुभयो । 

रारा ताल अवलोकन गर्ने उपयुक्त मौसम साउन, भदौ, कात्तिक, चैत, वैशाख र जेठ महिना हो । रारा पुग्नका लागि जुम्ला र कालीकोटको सीमाना नाग्मदेखि मुगु गमगढी सडक पार गर्नुपर्दछ । करिब ९४ किमी उक्त सडकको सिञ्जा कनकासुन्दरीको ६ किमी मात्र कालोपत्रे गरिएको छ । अन्य सडक कच्ची छ । सडक स्तरोन्नति गर्न सकिए रारामा बाह्रै महिना आन्तरिक र बाह्य पर्यटकहरूको आउजाउ हुने थियो ।