• १६ असार २०८१, आइतबार

कृषि सहकारीमार्फत् छाडा चौपायाको व्यवस्थापन

blog

कृषि सहकारीले सञ्चालन गरेको छाडा चौपाया व्यवस्थापन स्थल । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, असार १३ गते । शिवराजमा छाडा चौपायाका कारण सडक दुर्घटना बढेपछि सडकमा छाडिएका गाई गोरुको व्यवस्थापन सुरु गरिएको छ । शिवराज नगरपालिका-९ को बिजगौरीमा छाडा छोडिएका गाई गोरुको व्यवस्थापन सुरु गरिएको नगरप्रमुख अजय थापाले बताउनुभयो । 

जनश्रम कृषि सहकारीले छाडा चौपाया व्यवस्थापन गर्ने जिम्मा पाएको छ । बुधवार नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव र नगर प्रमुख अजय थापाले छाडा चौपायालाई घाँस खुवाएर उद्घाटन गर्नुभएको हो । कार्यक्रममा महासचिव विप्लवले समाज परिवर्तनको लागि हिँडेका युवाहरूको समूहले छाडा चौपाया व्यवस्थापन गरेर नौलो काम गरेको बताउनुभयो । छाडा चौपायाका कारणले सडक दुर्घटना बढ्ने मात्र नभई किसानका बालीनाली नोक्सान गरेको उहाँले बताउनुभयो । 

छाडा चौपायाको व्यवस्थापनलाई उत्पादनसँग जोडेर बायो ग्यास, दूध, घिउ, मल लगायत उत्पादन गरी रोजगारी मूलक सामाजिक सेवा हुने उहाँले बताउनुभयो । युवाहरू बिदेसिने चलन बढेको बताउँदै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुपर्ने उहाँको तर्क छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले घाइते अवस्थाका पशुको उपचार गर्ने र पालिकाको सहयोगमा बास स्थान निर्माण गरिएको बताउनुभयो । हाल पालिकामा भेटिएका ६० वटा गाई गोरुको व्यवस्थापन भएको बताइएको छ ।