• ८ पुस २०८१, सोमबार

मनसुन विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

blog

काठमाडौँ, असार १३  गते ।  मनसुन भित्रिएपछि गत जेठ २८ देखि असार १२ गते सम्ममा भएका विपदबाट आजसम्म ३३ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका छन् ।  मनसुन भित्रिएको जेठ २८ देखि असार १२ गतेसम्म कूल १४७  विपद्का घटना भएको र ती घटनाहरूमा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको छ । 

पहिरोबाट यो बिचमा १४ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । पहिरोका कारण २५ घर पूर्ण क्षति भएको छ । १० वटा घर आंशिक क्षति भएको छ ।  पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक क्षति भएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी गराएको छ । यस्तै मनसुनका समयमा बाढीबाट एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् । 

 चट्याङबाट क्षति 

सो अवधिमा चट्याङबाट ६८ वटा घटना भएको र ती घटनामा परी १३ जनाको मृत्यु भएको छ । चट्याङबाट २४ जना घाइते भएका छन् भने १७ लाख बढीको आर्थिक क्षति भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार पछिल्लो विपद्जन्य घटना (असार ११ र १२ गते)को अवधिमामात्रै १८ जनाको मृत्यु भएको छ । जसमा नौजना चट्याङबाट र नौजना बाढीपहिरोमा परेर मृत्यु भएको उहाँले बताउनुभयो ।­­­  रासस

­­­