• १६ असार २०८१, आइतबार

नाग्लीबाङ्ग सडक स्तरोन्नतिपछि यात्रा सहज

blog

स्तरोन्नति गरिएको सडक । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, असार १३ गते । वर्षौँ देखिको कच्ची र जीर्ण सडक स्तरोन्नति भएसँगै नाग्लीबाङवासीको यात्रा सहज भएको छ । म्याग्दीको बेनीसँग सिमाना जोडिएको जलजला गाउँपालिका-८ स्थित डिमुवाखोला हुँदै नाग्लीबाङ जोड्ने ग्रामीण सडकको घुम्ती सुधार, ग्रेड मिलाउने, नाली, पर्खाल र ढलान गरेपछि सर्वसाधारणहरूको यात्रा सहज भएको हो ।  

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा चालु आर्थिक वर्षमा खनियाघाट–डिमुलाखोला–नाग्लीबाङ सडक स्तरोन्नति गरिएको छ । यो सडकको २०६४ मा ट्रयाक खुलेको थियो । १६ वर्ष अघि ट्रयाक खुलेको सडक स्तरोन्नति भएसँगै जोखिमयुक्त यात्रा गर्नुपर्ने बाध्यता हटेपछि नाग्लीबाङवासीहरु खुसी भएका छन् । सडक स्तरोन्नति भएपछि गाउँमा उत्पादन भएको कृषि उपज बजार लैजान सहज भएको वडाध्यक्ष हरि विकास जिसीले बताउनुभयो । 

गाउँपालिकाले सडक स्तरोन्नति गर्न एक करोड ३३ लाख ५५ हजार २१८ रुपियाँमा साहना सक्षम जेभीसँग ठेक्का सम्झौता गरी साँघुरो र अप्ठ्यारो सडक तथा घुम्तीलाई फराकिलो बनाएर पर्खाल र नाली निर्माण गरिएको वडाध्यक्ष जिसीले बताउनुभयो । उहाँका अनुसार करिब एक किलोमिटर सडक ढलान गरिएको छ । डमुवाखोलादेखि नाग्लीवाङसम्मको ३ किलोमिटर सडकलाई स्तरोन्नति गरिएको छ । 

यसअघि गाउँपालिकाको ५० लाख रुपियाँ बजेटमा अप्ठ्यारो ठाउँमा पाँचसय मिटर सडक ढलान गरिएको थियो । सडक स्तरोन्नति भएपछि नाग्लीवाङ र छिमेकी वडा बनौका एक हजारभन्दा बढी घरधुरी लाभान्वित भएका छन् । राष्ट्रिय राजमार्ग कालीगण्डकी कोरिडोरमा पर्ने डमुवाखोलादेखि नाग्लीवाङ देखी लुप्राङ हुँदै बनौँ जोड्ने यो सडक ११.५ किलोमिटर लामो छ ।  

सडक पूर्ण रूपमा स्तरोन्नतिका लागि ४८ करोड रुपियाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर सङ्घ र प्रदेशमा बजेट प्रस्ताव गरेपनि आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन नहुँदा सडक स्तरोन्नति योजना रोकिने वडाध्यक्ष जिसीले बताउनुभयो ।