• १७ असार २०८१, सोमबार

कलाकारले गरे आत्मसम्मानको बोध

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, असार १३ गते । मधेश प्रदेशभित्रका भाषा, साहित्यकार, सङ्गीतकार, नाट्यकर्मी र लोकसंस्कृतिकर्मीले पहिलो पटक आत्मसम्मानको बोध गरेका छन् ।  तीन दशकदेखि लोकगायन क्षेत्रमा लाग्नुभएका सुभाष यादव बिरपुरियाले सरकारका तर्फबाट पहिलो पटक सम्मान पाउँदा आत्मसम्मानसँगै सन्तुष्टि मिलेको बताउनुभयो । उहाँ मैथिली भाषामा लोकगायन, नाट्यकलामा पोख्त हुनुहुन्छ । उहाँ जस्तै अशोक झा सन्तोषले पनि सरकारीस्तरबाट पहिलो पटक सम्मान पाएपछि खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले पनि कलाकारलाई ध्यान दिएको रहेछ ।”

 कलाकारको संरक्षण, संवर्धनमा सरकारको लगानी भयो भने लोककला, संस्कृति, साहित्यले जीवन्तता पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

लोकसंस्कृतिका धरोहरमध्येका एक रमिला साहले पनि सरकारबाट पहिलो पटक सम्मान पाउनुभएको छ । सम्मान ग्रहण गर्दै उहाँले भन्नुभयो, “लोकसंस्कृति नै हाम्रो मूल पहिचान हो, यसको संरक्षणका लागि कलाकारको संरक्षण गर्नु पर्छ । यसको सुरुवात सरकारले गरिसकेको छ ।” कलाको पुस्तान्तरण भएन भने कला सङ्कटमा पर्ने भन्दै उहाँले लोककलाको जगेर्ना सरकारीस्तरमा भयो भने कलाकारमा ऊर्जा थपिने विश्वास व्यक्त गर्नुभयो । 

मधेश प्रदेश सरकारले प्रदेशभित्रका भाषा, कला, साहित्य, संस्कृति, गीत/सङ्गीत, नाट्य गरी छ विधाको संरक्षण, संवर्धन, हस्तान्तरणका लागि गठन गरेको मधेश प्रज्ञा–प्रतिष्ठानले बुधबार एक समारोहबिच ती विधाका चार दर्जन कलाकारलाई सम्मान गरेको प्रतिष्ठानका सदस्य दिनेशकुमार यादवले बताउनुभयो । 

कार्यव्रmमलाई सम्बोधन गर्दै मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री राजकुमार लेखीले भाषा, कला, साहित्य, संस्कृति, गीत/सङ्गीत, नाट्य क्षेत्रमा सरकारले काम गरिरहेको बताउनुभयो । मधेशमा शिक्षाको अवस्था नाजुक रहेको भन्दै उहाँले यस क्षेत्रको कार्यान्वयनको तहमा कार्यान्वयन भइरहेको छ कि छैन चासो राख्नुपर्नेमा जोड दिनुभयो । यी क्षेत्रको कार्यान्वयन तह स्थानीय तहले कसरी काम गरिरहेको छ, भाषा, साहित्यकार, कविले चासो राख्नुपर्ने बताउनुभयो । विगतमा मधेश सरकारको कामकाजबाट सन्तुष्ट नरहेको भन्दै मन्त्री लेखीले अहिलेको सरकारले विगतको सरकारभन्दा फरक ढङ्गले काम गरिरहेको दाबी गर्नुभयो । 

प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडिको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले गणतन्त्र स्थापनामा कलाकारको ठुलो भूमिका रहेको प्रसङ्ग उल्लेख गर्दै राजनीतिलाई दिगोपन र स्थायित्व दिन भाषा, साहित्य, कला संस्कृतिले ठुलो महìव राख्ने बताउनुभयो ।