• १२ साउन २०८१, शनिबार

विराटनगर डुबान प्रभावित

blog

विराटनगर समाचारदाता

विराटनगर, असार १३ गते । मङ्गलबार रातिदेखि सुरु भएको वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको छ । डुबानका कारण विराटनगरको जनजीवन प्रभावित बनेको छ । पछिल्लो सात घण्टा विराटनगरमा लगातार भीषण वर्षा भएको थियो । पानीको निकास नहुँदा सहर र नगरका ग्रामीण क्षेत्रमा पानी जमेको छ । 

बस्ती क्षेत्रमा जमेको पानीले पक्का घरभित्र पानी पसेको छ भने खोलाको सतह बढ्दा खोला किनारका बस्ती जोखिममा छन् । बजार क्षेत्रका अधिकांश बाटोमा पानी भरिएका कारण हिँडडुल गर्न समस्या भएको छ भने कच्ची घरहरूमा पानी पसेर सर्वसाधारण समस्यामा परेका छन् । 

वर्षाका कारण केसेलिया खोलाको बाढी विराटनगर–१२ को बखरी, दरैया, वराहाटोल, मलौना, सिमराहीका दुई दर्जनभन्दा बढी घर डुबानमा परे । विराटनगर–१२ का वडा सदस्य कुशेश्वर राजवंशीले डुबानमा परेका घरका परिवारलाई नजिकै रहेको सामुदायिक भवन र बखरी स्कुलमा राखिएको जानकारी दिनुभयो । कसेलिया खोला भरिएर पानी बस्तीमा पसेका कारण दक्षिण पश्चिममा रहेको केही बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । खोलाको बाढी बस्तीमा पसेपछि स्थानीय त्रासमा छन् । 

लगातारको वर्षाका कारण खोलामा आएको बाढीले विराटनगरका–४, ५, ६, ८, १२, १५, १६, १७ र १८ का केही बस्तीका घर डुबानमा परेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । 

विराटनगरमा डुबानको समस्या देखिए पनि अहिलेसम्म कुनै मानवीय क्षति नभएकोे प्रहरीले जनाएको छ । प्रहरी, स्थानीय युवा जनप्रतिनिधिहरू डुबानबाट प्रभावितलाई सहयोग गर्न विभिन्न ठाउँमा खटिएका छन् । विराटनगर महानगरपालिकाको विपत् प्रतिकार्य टोली बिहानैदेखि बन्द भएको नाला तथा पैनी खोल्न विभिन्न वडामा जेसिबी लिएर पुगिरहेको सरसफाइ तथा वातावरण शाखाका अधिकृत पुनम दाहालले जानकारी दिनुभयो । 

विराटनगरको मुख्य बजार क्षेत्रमा पर्ने मुनालपथ, भृकुटी चोक, नेपाल आयल निगम क्षेत्र, दुग्ध विकास संस्थानको आयोजनास्थल जलमग्न बनेका छन् । दुग्ध विकास संस्थान विराटनगर आयोजनाका प्रमुख परमेश्वर चौधरीले कार्यालयको तल्लो तलामा पानी पसेर लेखाका महìवपूर्ण फाइल भिजेको र कार्यालयको काम प्रभावित भएको जानकारी दिनुभयो । 

अपराह्न भने विराटनगरमा वर्षा केही कम भयो । तीन÷चार घण्टा वर्षा रोकिएमा अधिकांश डुबान क्षेत्रको पानी कम भई केही सहज अवस्था आउने अधिकृत पुनम दाहालले जानकारी दिनुभयो । 

सडकसहित बस्ती डुबान 

इनरुवा समाचारदाताका अनुसार सुनसरीको इनरुवा नगरपालिकासहित विभिन्न स्थान डुबानमा परेको छ । तीन दिनदेखि लगातार वर्षा हुँदा इनरुवा र दुहबी नगरपालिकाका ग्रामीण वडा, बर्जु र गढी गाउँपालिकाको खोला आसपासका बस्ती डुबानमा परेका छन् । इनरुवा–२ को बिहीबारे हाट र पपुलर चोकदेखि बबियासम्मको मुख्य सडकमा तीन फिटसम्म पानी जमेको छ । सडकमा पानी जमेकाले सवारीसाधन र पैदलयात्रीलाई समेत आवतजावतमा समस्या भएको स्थानीय रवीन्द्र यादवले बताउनुभयो । 

उता इनरुवा नगरपालिका–३, ४, ९ र १० नम्बर वडाको विभिन्न बस्तीमा सुनसरी खोलाको पानी पसेकाले खोला छेउका बस्ती डुबानमा परेको स्थानीय राधा खत्वेले जानकारी दिनुभयो ।

इनरुवा–४ का विष्णु उराँवका अनुसार खिखरी टोल, बबिया कुपी टोल, शुव्रmबारे टोल र मलाहा टोलका बस्ती डुबानमा परेका छन् । त्यसै गरी गडन तथा सुनसरी खोलाले कटान तीव्र पारेकाले केहीको खेतीयोग्य जग्गामा समेत क्षति भएको गढी–५ का सन्तोष यादवले बताउनुभयो । सुनसरी खोलासहित गडन, धनउष्णा, बुढी र मरिया खोलामा आएको बाढीले नदीखोला आसपासका बासिन्दालाई डुबानले सताएको छ ।

वर्षाले केही ठाउँमा डुबान भएको खबर आए पनि विस्थापित भएको र अन्य कुनै मानवीय वा भौतिक क्षतिको विवरण नआएको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागले बुधबार बिहान प्रत्येक नागरिकको मोबाइलमा सूचना प्रवाह गर्दै सुनसरी खोलामा बाढीको जोखिम रहेको र तटीय क्षेत्र एवं डुबान भइरहने होचा भूभागमा रहनु हुनेले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।