रेखीराम राना
तानसेन, असार १३ गते । पाल्पा अस्पतालको भवन निर्माणका लागि आएको रकम हरेक वर्ष फिर्ता हुने गरेको छ । विगत तीन वर्षदेखि अस्पताल निर्माणका लागि आएको करोडौँ रकम फिर्ता हुने गरेको हो ।
भवन निर्माणका लागि जग्गा व्यवस्थापन हुन नसक्दा आएको रकम खर्च हुन नसकेको हो । आर्थिक वर्ष २०७८/७९ देखि लगातार भवन निर्माणका लागि रकम विनियोजन हुने गरेको छ तर तीन वर्षदेखि रकम फिर्ता हुँदै आएको पाल्पा अस्पताल प्रशासनले जनाएको छ । भवन निर्माण गर्न जग्गा व्यवस्थापन गर्न नसक्दा सङ्घीय सरकारबाट भवन निर्माणका लागि विनियोजन भएको रकम फिर्ता हुने गरेको पाल्पा अस्पताल प्रशासन शाखाका प्रमुख सुशील ज्ञवालीले बताउनुभयो ।
अस्पतालको भवन बनाउन भन्दै तीन वर्षअघि मोहनकन्या माविको जग्गा र अस्पतालको जग्गा सट्टीपट्टी गर्ने गरी काम अगाडि बढे पनि सरकारले हालसम्म पनि निर्णय नगरेको उहाँले बताउनुभयो । एक सय वर्ष पुरानो जीर्ण भवनबाट सेवा दिनु परेको बाध्यतालाई ध्यानमा राख्दै सरकारले तीन वर्षअघि भवन निर्माणका लागि पुनर्निर्माण प्राधिकरणबाट ६० करोडभन्दा बढी रकम सुनिश्चित गरेको थियो । यद्यपि उक्त रकम खर्च नभई फर्किएको थियो ।
त्यसपछि लगातार सङ्घीय सरकारले भवन निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । चालु आवमा पुनः १२ करोड बजेट विनियोजन गरेको अस्पतालकी सूचना अधिकारी प्रमिला पाठकले जानकारी दिनुभयो । उक्त रकमसमेत यो वर्ष खर्च हुन सकेको छैन । अब भवन निर्माणको काम अगाडि नबढेपछि चालु आवको १२ करोड रकम फिर्ता हुने निश्चित रहेको अस्पतालले जनाएको छ । सरकारले आगामी आव २०८१/८२ मा पुनः भवन निर्माण गर्न दुई करोड रकम विनियोजन गरेको छ । आगामी आवमा पनि भवन बन्ने अहिलेसम्म सुनिश्चित हुन सकेको छैन । हाल अस्पताल रहेको क्षेत्र वरपर जग्गा व्यवस्थापन गर्न नसक्दा हरेक वर्ष रकम फिर्ता भएको हो । अस्पताल अन्यत्र सार्न पनि नसक्दा र अस्पताल क्षेत्रमा जग्गा उपलब्ध नहुँदा अस्पतालको विकासमा असर गरेको सरोकारवालाको भनाइ छ । हाल पाल्पा अस्पतालको आठ रोपनी मात्र जग्गा छ । त्यस स्थानमा समेत भवन बनाउन सकिने प्रावधान छैन ।
लुम्बिनी प्रदेश सरकारले तीन वर्षअघि अस्पताललाई एक सय शय्याको बनाउने निर्णय गरिसकेको छ । सोही अनुसार कर्मचारी व्यवस्थापन भए पनि पुरानो भवनबाट सेवा दिन असहज भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट राजेन्द्रबहादुर जिसीले बताउनुभयो । भवन बनाउन नसक्दा चिकित्सकलाई बिरामी जाँच गर्ने कक्षसमेत व्यवस्थापन गर्न गाह्रो भइरहेको उहाँले बताउनुभयो । जग्गा व्यवस्थापनका लागि पहल भइरहेको भए पनि ठोस निर्णयमा पुग्न नसकेको अस्पतालका मेसु जिसीको भनाइ छ ।