• १६ असार २०८१, आइतबार

ठेकेदारबाट चरम लापर्बाही, पुल निर्माणमा ढिलाइ

blog

शेरबहादुर सार्की

बाजुरा, असार १३ गते । बार्जुगाड खोलामा पुल निर्माणको काममा ढिलाइ भएको छ । २०७६ साल असारसम्म काम पूरा गर्ने गरेर २०७२ साल असारसम्म निर्माण सक्ने सम्झौता गरिएको थियो । 

दुई करोड रुपियाँको लागतमा पुल निर्माण कार्यको जिम्मा लिएको साउद एडभेन्चर जेभी कम्पनी पुल निर्माण कार्यमा बेखबर बनेको छ । निर्माण कम्पनीकै चरम लापर्बाहीका कारण पुल निर्माणमा ढिलाइ भएको आरोप स्थानीयको छ ।

बुढीगङ्गा नगरपालिका–४ र खप्तड छेडेदह–३ को बिचमा पर्ने बार्जुगाड नदीमा निर्माणाधीन पुलको काम सात वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । पुल नबन्दा स्थानीयले बर्खाको समयमा खोला तर्न निकै सास्ती खेप्दै आउनु परेको छेडेदह–३ का खडक खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल निर्माण गर्ने म्याद सकियो, ठेकेदारले फेरि म्याद थप्दै जान्छन् । हाम्रो समस्या भने जस्तो पहिला थियो, अहिले पनि उस्तै छ । पुलको जिम्मा लिएको सात वर्ष भइसक्दा पनि निर्माण नहुँदा समस्या भएको छ ।” झाली, पुडाबाउँला, टुनीसैन र बानेगाउँका बासिन्दा यही खोला तरेर दैनिक आउजाउ गर्ने गर्छन् । 

गत वर्ष खोला तर्ने क्रममा टुनीसैनका एक महिलालाई खोलाले बगाएको थियो । आव २०७५/७६ को असारमा काम सक्ने गरी आव २०७२/७३ को असारमा तत्कालीन जिल्ला विकास समिति बाजुराले दुई करोड रुपियाँमा अछामको साउद एडभेन्चर जेभीलाई निर्माणको जिम्मा दिएको थियो । 

पहिला लेआउट गरेको ठाउँमा पहिरोले जमिन बगाएपछि अर्को ठाउँको माटो परीक्षण गर्दा समय लागेपछि ढिलाइ भएको साउद एडभेन्चर जेभीका प्रोप्राइटर ईश्वर साउदको तर्क छ । उहाँले भन्नुभयो, “स्वाइल टेस्टको रिपोर्ट आएपछि अहिले अर्को ठाउँमा पुल निर्माण गर्ने काम जारी छ । ट्रस्ट ब्रिज निर्माण गर्नुपर्ने हो । पुलका केही सामग्री कम्पनीले उतैबाट जडान गरिदिन्छ, त्यो सामग्री सानो गाडीमा ढुवानी गर्न समस्या हुन्छ । बाटो छैन, ठुलो गाडी त्यो खोलामा जाँदैन । गाडी नजाने भएकाले सामग्री लान नसकेपछि काम गर्न ढिलाइ भएको हो ।”

पूर्वाधार विकास कार्यालय साँफेबगरका कार्यालय प्रमुख रुद्धबहादुर बोगटीले पुल निर्माणको जिम्मेवारी सडक पूर्वाधार कार्यालयले लिएको बताउनुभयो । पुल निर्माणको जिम्मा लिएको ठेकेदारको लापरबाहीका कारण काम हुन नसकेपछि अहिले एक वर्षको म्याद थप गरिएको जानकारी उहाँले दिनुभयो । 

बल्दे–धुरासैन सडकखण्ड अलपत्र

यसैबिच सेरा–आटीचौर सडक अन्तर्गत पर्ने बल्देदेखि धुरासैन सडक निर्माणको काममा ढिलाइ भएको छ । सडक निर्माणको जिम्मा लिएको जयदेवी एसएस निर्माण सेवा प्रालिको लापरबाहीका कारण निर्माणको काममा ढिलाइ भएको हो ।

सेरा–आटीचौर सडक निर्माणको जिम्मेवारी लिएको सो ठेकेदार कम्पनीले समयमै काम पूरा नगरेपछि निर्माणमा ढिलाइ भएको बुढीगङ्गा नगरपालिका–२ का बासिन्दा बहादुर थापाले बताउनुभयो ।

“सडक स्तरोन्नति नहुँदा ब्रह्मतोला, कुँडी, डुग्री, आटीचौर र डोगडीका बासिन्दाले हिउँद बर्खामा आउजाउ गर्न सास्ती खेप्दै आउनु परेको छ,” उहाँले भन्नुभयो, “बर्खाको समय सधैँ बाटो अवरुद्ध हुने गरेकाले यहाँका बासिन्दालाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि निकै समस्या हुने गरेको छ ।”

आव २०६५/६६ मा सडक डिभिजन कार्यालय अछामले सेरा आटीचौरसम्मको कच्ची सडकको निर्माण पूरा गरेपछि छोटो दुरीका सवारीसाधन सञ्चालनमा आएका थिए । यो सडकले बुढीगङ्गा नगरपालिका–२ को बल्देदेखि खप्तड छेडेदह गाउँपालिकाको आटीचौर डोगडी हुँदै बझाङ छोएको छ । 

पहिला कच्ची सडकमा लगातार चलिरहने गाडी अहिले ठाउँ ठाउँमा रोकिँदै आउने गरेका छन् । डोगडी, आटीचौरलगायतका स्थानीय यही सडकबाट दैनिक कामकाजका लागि साँफे, मार्तडीलगायतका विभिन्न ठाउँमा आउजाउ गर्ने गर्छन् ।

कोरोनाका कारण सामान महँगो हुँदा सडक निर्माणको काममा ढिलाइ भएको जयदेवी एसएस प्रालिका प्रतिनिधि वीरेन्द्र शाहीले बताउनुभयो । २०७९ साल चैत मसान्तमा काम पूरा गर्ने गरेर २०७७ साल असारमा जयदेवी एसएस निर्माण सेवा प्रालिले बल्देदेखि धुरालसैनसम्मको पाँच किलोमिटर छ सय मिटर सडक निर्माणको जिम्मा लिएको भौतिक पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।

विसं २०७९ मा सेरा–आटीचौर सडक अन्तर्गत पर्ने बल्देदेखि धुरालसैनसम्मको पाँच किलोमिटर छ सय मिटर सडक असारसम्म कालोपत्रे गर्ने गरी २०७७ असारमा ११ करोड रुपियाँको लागतमा जिम्मा लिएको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख रुद्धबहादुर बोगटीले बताउनुभयो ।