• १६ असार २०८१, आइतबार

कृषि र उत्पादन प्राथमिकतामा

blog

चितवन समाचारदाता

चितवन, असार १३ गते । चितवनका सात पालिकामध्ये छ वटा पालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का बजेट ल्याएका छन् । 

असार १० गतेभित्र पालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने प्रावधान छ । चितवनको राप्ती नगरपालिकाबाहेक अन्य सबैले निर्धारित समयमा बजेट ल्याएका हुन् । भरतपुर महानगरपालिकाले छ अर्ब ५५ करोड रुपियाँको बजेट ल्याएको छ । 

माडी नगरमा एक अर्बको बजेट

माडी नगरपालिकाले आगामी आवका लागि करिब एक अर्ब रुपियाँको बजेट ल्याएको छ । नगरपालिकाको १३ औँ नगर सभामा नगर उपप्रमुख खेमप्रसाद महतोले ९९ करोड ६० लाख ३५ हजार रुपियाँको बजेट सार्वजनिक गर्नुभएको हो । 

त्यस्तै शिक्षातर्फ २८ करोड १४ लाख ८४ हजार, स्वास्थ्यमा नौ करोड ३१ लाख ४७ हजार र पशुपन्छी विकासतर्फ एक करोड ९८ लाख सात हजार रुपियाँ बजेट विनियोजन गरिएको छ ।

खैरहनीमा कृषिलाई प्राथमिकता 

चितवनको खैरहनी नगरपालिकाले ल्याएको आगामी आवको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ । कृषि उत्पादन बढाउँदै रोजगारी सिर्जना गर्ने र किसानलाई आत्मनिर्भर बनाउन अनुदान र प्रविधिको प्रयोगलाई बजेटले जोड दिइएको नगरप्रमुख शशी खनियाँले जानकारी दिनुभयो । 

पालिकाले आगामी आवका लागि एक अर्ब एक करोड ५४ लाख ९५ हजार रुपियाँको बजेट सार्वजनिक गरेको हो । आम्दानीतर्फ आन्तरिक आय १९ करोड ४७ लाख, सङ्घीय सरकार ससर्त अनुदान २७ करोड ९१ लाख ७२ हजार र सङ्घीय सरकार समानीकरण अनुदान १६ करोड १४ लाख रुपियाँ हुने जनाइएको छ । 

रत्ननगरमा पूर्वाधारलाई जोड 

रत्ननगर नगरपालिकाको आगामी आवको बजेट पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता दिएको छ । बजेटले शिक्षा, कृषिलाई पनि प्राथमिकता दिएको उपप्रमुख यादवराज पाठकले जानकारी दिनुभयो । पालिकाले आगामी आवका लागि एक अर्ब ४३ करोड ५३ लाख २० हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आन्तरिक आयतर्फ पनि लक्ष्य अनुरूप रकम उठाउन नसक्दा विकास निर्माणलगायत वडा बजेटको सिलिङमा समेत प्रभावित भएको उपप्रमुख यादवले बताउनुभयो ।

कालिकाको मेयरसँग केयर कार्यक्रम

चितवनको कालिका नगरपालिकाले आगामी वर्षको बजेटले चेपाङ बालबालिकालाई विद्यालयमा टिकाउन ‘मेयरसँग केयर’ कार्यक्रमलाई प्राथमिकता दिएको छ । अति विपन्न चेपाङ बालबालिकालाई विद्यालयमा अध्ययन गर्ने वातावरण सिर्जना गर्न उक्त कार्यक्रम ल्याइएको नगरप्रमुख विनोद रेग्मीले बताउनुभयो ।  

उपप्रमुख विमला तामाङले आगामी आवका लागि राजस्व तथा अनुदान प्राप्तिको अनुमानका आधारमा ८७ करोड ७८ लाख ८१ हजार रुपियाँको बजेट नगर सभामा प्रस्तुत गर्नुभएको थियो । नगरप्रमुख रेग्मीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको छ ।

इच्छाकामनामा कृषिलाई प्राथमिकता

इच्छाकामना गाउँपालिकाले आगामी आवको नीति तथा कार्यvमले कृषि र शिक्षालाई प्राथमिकता दिएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि ७७ करोड ८८ लाख ९२ हजार रुपियाँ बराबरको ल्याएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उत्पादनलाई वृद्धि गर्न कृषिलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । 

पालिकामा ताला

राप्ती नगरपालिकामा लगाएको तालाबन्दीका कारण राप्ती नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । नगरप्रमुख शमशेर लामाले आफ्नो कार्यकक्षमा लगाएको ताला खोलेपछि मात्र नीति तथा कार्यव्रmम र बजेट सार्वजनिक गर्ने बताउनुभयो । नेकपा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिले लगाएको ताला आत्मालोचनासहित खोले मात्र बजेट ल्याउने उहाँले बताउनुभयो । विज्ञप्ति जारी गरी नगरप्रमुख लामाले प्रमुख र उपप्रमुखको कार्यकक्षमा लगाएको ताला र उच्च अदालतमा हालेको रिटको सुनुवाइ नभएसम्म नगर सभा गर्ने वातावरण नभएको जानकारी दिनुभयो ।