• १५ असार २०८१, शनिबार

निबन्ध लेखन तथा वक्तृत्वकलामा विद्यार्थी पुरस्कृत

blog

उत्कृष्ट भएका विद्यार्थी सम्मानित हुँदै ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १२ गते । नेपालस्थित पाकिस्तानी दूतावासले ११ औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता तथा सातौँ वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न गरेको छ ।  

‘दक्षिण एसियाको आर्थिक विकासमा महिलाको भूमिका’ विषयक निबन्ध लेखन प्रतियोगितामा विश्व निकेतन माध्यमिक विद्यालयका छात्रा इसा बराल प्रथम हुनुभएको छ । उहाँलाई स्वर्ण पदक, प्रमाणपत्र र नगद ४० हजार रुपियाँले सम्मानित गरिएको छ ।  

प्रतियोगितामा तिलिङ्गाटार माध्यमिक विद्यालयका छात्र मोहित वाग्ले दोस्रो हुनुभयो । उहाँलाई रजत पदक, प्रमाणपत्र र ३० हजार रुपियाँ नगदसहित सम्मान गरियो । त्यस्तै, सोही विद्यालयका छात्र श्रीशान्त श्रेष्ठले तेस्रो स्थान हासिल गर्नुभयो । उहाँलाई कांस्य पदक, प्रमाणपत्र र २५ हजार रुपियाँसहित सम्मानित गरियो । 

प्रतियोगितामा सहभागी १८१ विद्यार्थीमध्ये १२ जनालाई सान्त्वना पुरस्कार स्वरूप जनही पाँच हजार रुपियाँसहित सम्मानपत्र प्रदान गरिएको छ । यस्तै, ‘दक्षिण एसियाली देशहरूका लागि आर्थिक विकास र सामाजिक उत्थानमा क्षेत्रीय सम्पर्क सञ्जालको महत्त्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयका छात्रा वर्षाकुमारी रावत प्रथम हुनुभयो । उहाँलाई स्वर्ण पदक, प्रमाणपत्र र नगद ४० हजार रुपियाँ प्रदान गरियो । 


प्रतियोगितामा नेसनल ल क्याम्सका छात्रा सोनिका न्यौपाने दोस्रो हुनुभयो । उहाँले रजत पदक, प्रमाणपत्र र नगद ३० हजार रुपियाँ प्राप्त गर्नुभयो । सेन्ट जेभियर कलेजका छात्र वीरेन्द्र श्रेष्ठले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक, प्रमाणपत्र र नगद २५ हजार रुपियाँ प्राप्त गन्नुभयो । प्रतियोगितामा सहभागी विद्यार्थीमध्ये १३ जनालाई सान्त्वना पुरस्कार स्वरूप जनही पाँच हजार रुपियाँसहित सम्मानपत्र प्रदान गरियो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला थापा र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले बुधवार आयोजित समारोहमा पुरस्कार प्रदान गर्नुभयो ।

त्यस अवसरमा उपकुलपति थापाले यस्ता प्रतियोगिताले सुनौलो भविष्य निर्माण गर्न नेपाली विद्यार्थीलाई लाभ पुग्ने बताउनुभयो । पछिल्लो समय गाउँबाट सहर र सहरबाट बाह्य मुलुकमा बसाइँ सर्नेको सङ्ख्या बढ्दो रहेको बताउँदै उहाँले समाजका लागि केही गर्न सक्ने सम्भावना बोकेका बौद्धिक शक्तिसमेत बाहिरिनु चिन्ताको विषय हो भन्नुभयो । 

त्यस्तैगरी, राजदूत हास्मीले प्रतियोगितामा सहभागी विद्यार्थीको प्रतिभाको प्रशंसा गर्दै भविष्यका चुनौतीलाई आत्मसात् गर्न आह्वान गर्नुभयो ।