• १५ असार २०८१, शनिबार

राष्ट्रिय उद्यमशीलता पुरस्कार कञ्चनजङ्गा बगानलाई

blog

मदन भण्डारी फाउण्डेसनले गरेको पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्षसहित अतिथिहरु ।

काठमाडौँ, असार १२ गते । मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गरिने भएको छ । 

मदन भण्डारी फाउण्डेसनले बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा असार १४ गते आयोजना हुने विशेष कार्यक्रममा नगद एक लाख रुपियाँसहित सम्मानपत्र प्रदान गरिने जनाएको छ । 

फाउण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले जननेता मदन भण्डारीको योगदान एवम् व्यक्तित्वलाई स्मरण गर्दै आर्थिक, राजनीतिक तथा सामाजिक रूपान्तरण लगायतका क्षेत्रमा महत्त्वपूर्ण काम गर्दैआएको संस्था र व्यक्तिलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरिँदै आइएको छ ।

उहाँले राष्ट्रिय उद्यमशीलताको क्षेत्रमा योगदान गरेका विभिन्न संस्थामध्ये रामशरण प्याकुरेलको संयोजकत्वमा गठन भएको विज्ञहरूको स्वतन्त्र छनौट समितिले गरेको छलफल, विश्लेषण एवम् सिफारिसका आधारमा कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र छनौटमा परेको जानकारी दिनुभयो ।

सो केन्द्रले २०४१ सालदेखि नेपालमा चिया प्रवर्धनको लक्ष्य र सो क्षेत्रको अध्ययन अनुसन्धान गरी स्थानीय कच्चा पदार्थको प्रयोगलाई मुख्य आधार मानेर प्राङ्गारिक चिया खेतीका माध्यमबाट रोजगारी सिर्जना, स्थानीय बजार व्यवस्थापन, निर्यात प्रवर्धन गरी अर्थतन्त्रलाई टेवा गर्दैआएको छ ।  

कञ्चनजङ्गाले ९५ हेक्टर जमिनमा फैलिएको छ लाखभन्दा बढी चियाका बिरुवाहरूको नयाँ र आयुर्वेदिक तथा जैविक खेती प्रविधिमार्फत दश प्रकारका चिया र १३ प्रकारका जडीबुटी, प्राकृतिक मसलासहित वार्षिक रूपमा सय टनभन्दा बढी चिया तथा जडीबुटीको गुणस्तरीय उत्पादन गरी स्वदेश र जापान, क्यानडा, अष्ट्रेलिया, कोरिया, युक्रेन, संयुक्त राज्य अमेरिका, पोल्याण्ड, नेदरल्याण्ड, फिनल्याण्ड, चीन र भारत लगायतका देशमा निर्यात गर्दै आएको छ । जसबाट एक सय ५० भन्दा बढी किसान र चारसय जनशक्तिलाई प्रत्यक्ष–अप्रत्यक्षरुपमा रोजगारी प्रदान भएको फाउण्डेसनले जनाएको छ ।