• १३ असोज २०८१, आइतबार

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

blog

फाइल तस्बिर

जनकपुरधाम, असार १२ गते । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको बताउनुभयो ।

रेल सेवा प्रत्येक शनिबार दिनको १:३० बजे जनकपुरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या पुग्ने तथा सोही रेल साँझ ५ बजे अयोध्याबाट फर्किएर अर्को बिहान ७ः३० बजे जनकपुरधाम पुग्ने गरी तालिका सार्वजनिक गरिएको उहाँले जानकारी दिनुभयो । 

“जनकपुरधाम-अयोध्या रेल सञ्चालनका लागि समय तालिका सार्वजनिक गरेका छौँ, अब सोहीअनुसार छिट्टै सेवा सुरु गर्ने तयारीमा छौँ । उद्घाटनको समय तालिका मिलाउन लागिएको छ, समय मिल्नासाथ औपचारिक घोषणा गर्नेछौँ ।” यहाँ वि.सं.२०७८ चैत २० गतेदेखि जयनगर–कुर्थासम्म र विगत एक वर्षदेखि महोत्तरीको भङ्याहासम्म रेल सञ्चालन भइरहेको छ । रासस