• १३ असोज २०८१, आइतबार

बाढीले पुलको काममा अवरोध

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, असार १२ गते । मनसुन चाँडै सुरु भई खोलामा बाढी आउँदा पूर्वपश्चिम राजमार्ग विस्तार र पुल निर्माणको काममा अवरोध भएको छ ।  मङ्गलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण कोशी प्रदेशका सबै खोलामा पानीको सतह बढेको छ । पूर्वपश्चिम राजमार्गको केरखापश्चिम इटहरीसम्मको काम चिनियाँ कम्पनी सिआरएफजी र तुङ्गी कन्स्ट्रक्सनबाट भइरहेको छ । सडक निर्माणसँगै छोटा पुल निर्माण गरिरहेको तुङ्दी कन्स्ट्रक्सनका फिल्ड इन्जिनियर नीरज राउतका अनुसार आज (मङ्गलबार) मात्र पुलको १० वटा पायल हाल्ने (खोलामा पुलको पिल्लर हाल्नका लागि पूर्वाधारको काम) कार्यसूची थियो । साना पुलको कामलाई वर्षाले असर गर्दैन भन्ने सोचेर काम गरिरहेका थियौँ तर पानीले काम गर्न दिएन । मङ्गलबार काम गर्न निस्किएका मजदुर र प्राविधिकहरू वर्षाका कारण फर्किएको राउतले बताउनुभयो ।

उहाँका अनुसार चिसाङ खोलामा पायल हाल्न तयारी अवस्थामा राखेको बक्स खोलाले बगाएको छ । राउतले भन्नुभयो, “हामीले २५ वटा छोटा पुल र केही कल्भर्ट निर्माण गर्नुपर्ने छ । सरकारसँग सम्झौता भए अनुसार माघ १९ गते काम सुरु गर्नुपर्ने थियो । हामीले वैशाख २ देखि काम सुरु गरेका हौँ । हालसम्म पाँच प्रतिशत भौतिक प्रगति भइसकेको छ । सरकारले हालसम्म बिल पेस भए अनुसार रकम भुक्तानी गरिरहेकाले काम तीव्र भइरहेको छ ।” 

आयोजनाको दमक फिल्ड कार्यालयका प्रमुख जगत प्रजापतिले तीन सय मिटरभन्दा लामा तीन वटा पुल निर्माणमा मात्र समस्या हुने बताउनुभयो । छोटा पुलमा काम गर्न खासै समस्या छैन । लामा पुलमा खोला च्यानलाइज गरेर काम गर्ने अवस्था छैन । प्रजापतिले पश्चिम खण्डमा रतुवा, बव्रmाहा र लोहोन्द्रा खोलामा तीन सय मिटरभन्दा लामा पुल बन्ने जानकारी दिनुभयो ।