लीलाधर वली
घोराही, असार १२ गते । दाङको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मन्ठोरिया भवानी मन्दिर ओझेलमा परेको छ । घोराही उपमहानगरपालिका–१०, उत्तर अम्राइमा रहेको मन्ठोरिया भवानी मन्दिरको संरक्षणसँगै प्रचारप्रसार नहुँदा बर्सौंं पुरानो धार्मिक सम्पदा ओझेलमा परेको हो ।
मन्दिरमा पूजासँगै दर्शन गरेमा दुःखकष्ट हट्नुका साथै मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । सोही जनविश्वासका कारण पूजापाठसँगै माघी पर्वमा मन्ठोरिया मन्दिरमा तीन दिनसम्म मेलासमेत लाग्ने गर्दछ । स्थानीय गोविन्द चौधरी माघीसँगै मन्दिरमा मानिसलाई दुःखकष्ट परेका बेला, मनोकामना पूरा गर्नका लागि पूजाअर्चना हुने गरेको बताउनुहुन्छ । मानिसलाई दुःखकष्ट परेका बेला भाकल गर्ने गरिए पनि मन्दिरमा दैनिक रूपमा पूजापाठ भने नहुने गरेको चौधरी बताउनुहुन्छ ।
धार्मिक एवं ऐतिहासिक महत्व बोकेको मन्दिर भए पनि दैनिक रूपमा पूजापाठ नहुँदा मन्दिरको संरक्षण र प्रचारप्रसार हुन नसकेको चौधरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मन्दिरमा दैनिक पूजापाठसँगै संरक्षणका लागि स्थानीय लाग्नु पर्छ । मन्दिरमा दैनिक पूजापाठ हुन नसक्दा ओझेलमा पर्न गएको छ ।” मन्ठोरिया मन्दिरमा खास गरी थारू समुदायबाटै पूजाअर्चना गरिने भएकाले मन्ठोरिया भवानी थारू समुदायकी आराध्यदेवीका रूपमा लिने गरिन्छ । यद्यपि थारू राजा दङ्गीशरणका चालिसौँ पुस्ताका राजा रत्नपरीक्षकले छैटौँ शताब्दीमा यस मन्ठोरिया भवानी मन्दिरमा तपस्या साधना गरी ऋद्धिसिद्धि प्राप्त गरेर सिद्धरत्ननाथ नामले प्रसिद्धि पाएको र इहलिलासमेत पूर्ण भएकाले मन्ठोरिया मन्दिरमा कान चिरेको कथन छ । यहाँ योगी सम्प्रदायबाट समेत पूजा हुने गरेको छ ।
मन्ठोरिया भवानी मन्दिर घोराही उपमहानगरपालिका–१७, चौघेरामा रहेको गोरक्ष सिद्धरत्ननाथ मन्दिरसँग सम्बन्ध छ । गोरक्ष सिद्धरत्ननाथ र मन्ठोरिया दुवै मन्दिरको भारतको तुलसीपुरस्थित पाटनदेवी मन्दिरसँग सम्बन्ध छ । पाटनदेवीको यात्रा आरम्भ मन्ठोरिया मन्दिरको पूजापश्चात् मात्र हुने गर्दछ । सिद्धरत्ननाथ चौघेराबाट मन्ठोरिया मन्दिरमा धार्मिक कार्य गरिने र चौघेरामा रहेका पात्रदेवतालाई पाटनदेवी मन्दिर पु¥याउँदा मन्ठोरिया मन्दिर आसपास क्षेत्रका थारू समुदायका मानिससँगै जाने प्रचलन थियो ।
मन्ठोरिया भवानी मन्दिरलाई एकै रातमा तयार भएको मन्दिरका रूपमा समेत चिन्ने गरेको स्थानीय देवीलाल चौधरी बताउनुहुन्छ । पहिले रातिको समयमा देवीदेवता हिँड्ने गरेका बेला देवीदेवताले नै मन्दिर बनाएको विश्वास गर्दछन् ।
स्थानीय सरकारले विकास र प्रचारप्रसारमा ध्यान नदिँदा मन्ठोरिया मन्दिर ओझेलमा परेको गुनासो छ । पहिले इँटा र माटोको प्रयोग गरेर निर्माण गरिए पनि पछि मन्दिर इँटा र चुनासुर्की प्रयोग गरेर निर्माण गरिएको छ । पहिले मन्दिरको छेउमा पुजारी बस्ने घर, चार कोठाको धर्मशाला भए पनि अहिले भग्नावशेष अवस्थामा मात्र देख्न सकिने स्थानीय चौधरी बताउनुहुन्छ । यो मन्दिरको विकाससँगै प्रचारप्रसार गर्न सके पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने उहाँ बताउनुहुन्छ ।
विसं २०१९ सम्म मन्ठोरिया भवानी मन्दिरमा राँगा, बोका, भेडा, सुपारी, जाइफल, गडी र छोकडा गरी पाँच प्रकारका मसला चढाउने प्रचलन पछिल्लो समय हटेको स्थानीय बताउँछन् । पहिले मन्दिरको सुरक्षाका लागि चारैतिर पर्खाल निर्माण गरिए पनि त्यो भत्किएपछि पुनः बन्न सकेको छैन । १७ औँ शताब्दीमा एकैरातमा तयार भएको मन्दिरका रूपमा परिचित मन्ठोरिया भवानी मन्दिरलाई ‘मन्ठोरिया मन्दिर’ पनि भन्ने गरिन्छ । समुद्री सतहबाट ५३६ मिटरको उचाइमा रहेको यो मन्दिर घोराही बजारबाट नौ किलोमिटर पश्चिम उत्तरमा रहेको छ ।