• १५ असार २०८१, शनिबार

समैजी मुद्राडमा तरकारी खेती

blog

अमरगढी समाचारदाता

डडेलधुरा, असार १२ गते । डडेलधुराको अजयमेरु गाउँपालिका–१, समैजी मुद्राड गाउँका स्थानीय महिला तरकारी खेती सिक्दै कमाउँदै आइरहेका छन् । कृषि ज्ञान केन्द्रले किसानका बारीमै प्रशिक्षक पठाइ सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गरेको छ । 

केन्द्रले आइपिएम (इन्टिग्रेटेड पेस्टी मेनेजमेन्ट, एकीकृत शत्रुजीव व्यवस्थापन) कृषक पाठशाला सञ्चालन गरेपछि मुद्राड गाउँका करिब ३० भन्दा बढी महिलाले तरकारी खेती गरिरहेका छन् । सामूहिक रूपमा तरकारी खेती गर्न अभ्यास गर्दै महिलाले भेडेखुर्सानी उत्पादन गरेका छन् ।

तरकारी खेती गर्न खनजोतदेखि बेर्ना राख्ने, मलजल गर्ने, गोडमेल गरेर बजारसम्म पु¥याउने गरेर पाठशालामा महिलालाई सिकाइएको कृषि ज्ञान केन्द्रका प्रमुख खेमराज पनेरूले बताउनुभयो । मुद्राड गाउँमा आयोजना गरिएको आइपिएम कृषक पाठशाला समापन तथा किसान दिवस कार्यक्रममा उहाँले बढीभन्दा बढी तरकारी उत्पादन गरेर महिलालाई आम्दानी बढाउन आग्रह गर्नुभयो । 

सडक पुगेको मुद्राड गाउँमा सिँचाइका लागि कुलोको व्यवस्था र उर्वर भूमिसमेत भएकाले व्यावसायिक रूपमा तरकारी खेती गरेर सक्षम हुन उहाँले महिलालाई अनुरोध गर्नुभयो । 

आइपिएम पाठशाला योजना लागु भएकाले गाउँका किसानले राम्रो तरकारी खेती गर्दै गए थप योजना ल्याउने उहाँले बताउनुभयो । तरकारी तथा खाद्य वस्तु आलीदेखि थालीसम्म सफा र स्वच्छ हुनु पर्छ भन्ने मान्यताले आइपिएमले पाठशाला सञ्चालन गर्दै आएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत लेखाराज निरौलाले जानकारी दिनुभयो ।