• १३ असोज २०८१, आइतबार

सम्पादकको योग्यता पुनरावलोकन तयारी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार ११ गते । प्रेस काउन्सिल नेपालले सम्पादकको योग्यता र मापदण्ड पुनरावलोकन प्रक्रिया थालेको छ । डिजिटलसहित विभिन्न सञ्चार माध्यममा सम्पादकको पुरानै योग्यता भएकाले पुनरावलोकन आवश्यक भएर प्रक्रिया थालिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनुभयो । 

प्रविधिले फड्को मारी पत्रकारिताको आयाम र प्रवृत्तिमा व्यापक विस्तार भएकाले त्यो आवश्यक भएको उहाँको भनाइ छ । तर सञ्चार माध्यमको सम्पादकीय नेतृत्व गर्ने सम्पादकको योग्यतामा फेरबदल नभएको उहाँले बताउनुभयो । 

सोही कारण हामीले त्यसको योग्यता र मापदण्ड पुनरावलोकन प्रक्रिया थालेका हौँ अध्यक्ष बस्नेतले मङ्गलबार नयाँ अनलाइन, युट्युब, सञ्चार माध्यमका सञ्चालक, सम्पादकलाई काउन्सिलमा आयोजित अभिमुखीकरण कार्यक्रममा भन्नुभयो ।

पत्रकारलाई गल्ती गर्ने छुट नभएकोतर्फ हरदम ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले मानवीय कमजोरीले यदाकदा गल्ती भए क्षमा याचनासहित सच्याउन सधैँ अग्रसर हुन सुझाव दिनुभयो । अभिमुखीकरणमा आचारसंहिता पाटोमा कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक विजय पौडेल र विभिन्न सञ्चार निर्देशिका एवं अनुगमनबारे काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गर्नुभएको थियो । 

पत्रकार पौडेलले भ्युअर्स बढाइ केही कमाउने लोभमा पत्रकारिता सक्नतिर कोही पनि लाग्न नहुने बताउनुभयो । पत्रकार आचारसंहिता र पत्रकारिताको धर्म पालना गर्दै अघि बढेमा युट्युबसहित सामाजिक सञ्जालको सदुपयोग हुने उहाँको सुझाव छ ।