• १३ असोज २०८१, आइतबार

भारतीय पर्यटक कोइलावासमा

blog

कोइलाबास घुम्न आएका एक भारतीय पर्यटक साइकिलिङ गर्दै ।

दिवाकर पोख्रेल

देउखुरी, असार ११ गते । दायाँबायाँ हरिया डाँडाका बिचमा उर्लंदै बगिरहेको कोइलाबास खोला उर्लँदै गर्दा स्काइ साइकिलिङ ओहोदोहोर गरिरहँदा मन नलोभिने कुरै भएन । 

रोमाञ्चकारी यात्रा गर्दै भेटिनुभएका भारतको गोण्डा घर भएका श्रुति गुप्ता अहिले घर परिवारसँग कोइलाबास आएको बताउनुभयो । यतिबेला घुमघामका लागि नेपालको कोइलाबासमा धेरै भारतीय पर्यटक आएका छन् । आफ्नो जीवनमा स्काइ साइकिलिङको अविस्मरणीय यात्रा रहने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘सुरुमा कसरी खेल्ने होला भन्ने लागेको थियो, पछि वारपार गर्दै गर्दा  गज्जब रमाइलो अनुभव भयो ।’ नेपालका विभिन्न ठाउँ पछिल्लो समय साहसिक तथा रोमाञ्चकारी खेलको हब बन्दै गएको छ । पर्यटकीय गतिविधि अन्तर्गत कोइलाबासमा वडा कार्यालयले सञ्चालनमा ल्याएको स्काइ साइकिलिङ सबैको आकर्षणको केन्द्र बनेको छ । 

अहिले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले साहसिक स्काइ साइकिलिङको रमाइलो अनुभव बटुलेर जाने गरेका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट ३३ किलोमिटर दूरीमा कोइलाबास पुगिन्छ । साइकिलिङमा दुई वटा ट्रयाक छ । एउटा ट्रयाकमा एक जनाले साइकिलिङ गर्न मिल्छ भने अर्कोमा जोडी नै एकसाथ खेल्न मिन्ने सुविधा छ ।

दुईतर्फी एकसय ४० मिटर लम्बाइको स्काइ साइकिलिङमा रमाउँदै फरक खालको यात्रा गर्न सकिन्छ । यस खेलमा रमाउन प्रतिव्यक्ति दुईसय रुपियाँ तिर्नुपर्छ । कोइलाबासले चिरेको पहाडका परिदृश्यमा स्काइ साइकिलिङ अर्को पर्यटक लोभ्याउने माध्यम हो । 

सहज यातायातको व्यवस्था हुँदा पर्यटकलाई प्याकेजमा समावेश गरी यहाँ ल्याउन सकिन्छ । स्काइ साइकिलिङले यहाँका अन्य व्यवसायको क्षेत्रलाई समेत सघाउनेछ भने राज्यको राजस्वमा समेत योगदान गर्नेछ । कोइलाबास पदमार्गमा आउने पर्यटकदेखि आन्तरिक पर्यटकको केन्द्र स्काइ साइकिलिङ बन्ने विश्वास स्थानीयको छ । 

भारतबाट आउने अधिकांश पर्यटक कोइलाबासमा रहेको स्काइ साइकिलिङमा आकर्षित हुने गरेका छन् । केही दिनअघि सुरु भएको स्काइ साइकिलिङमा रमाउनेमा भारतीय पर्यटकको सङ्ख्या बढेको छ । 

कोइलाबासमा स्काइ साइकिलिङ सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकले स्काइ साइकिलिङ गर्ने गरेका छन्  । गढवा गाउँपालिका –८ का वडाध्यक्ष खालिक सिद्दिकिले स्काइ साइकिलिङमा रमाउनेमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेको बताउनुभयो । उहाँले हप्ता दिनको अवधिमा आन्तरिक तथा बाह्य पर्यटकले स्काइ साइकिलिङको अनुभव लिएको बताउनुभयो । 

भारतका विभिन्न सहर तुलसीपुर, बलरामपुर, हरैया, भर्सैया, सिरसिया लगायतबाट आउने पर्यटक कोइलाबासमा रहेको स्काइ साइकिलिङमा रमाउने गरेका छन्  । भारतीय पर्यटक स्काइ साइकिलिङप्रति आकर्षित हुने बताउँदै उहाँले दैनिक सरदर ५० जनाले स्काइ साइकिलिङ गर्ने बताउनुभयो । 

वडा कार्यालयको करिब २७ लाख लागतमा कोइलाबासमा स्काइ साइकिलिङ सञ्चालनमा ल्याइएको हो । राप्तीको प्रवेशद्वारको रूपमा  कोइलाबास नाका प्रचलित छ । पछिल्लो पटक चहलपहल बढ्न थालेको  भग्नावशेष रहेको कोइलाबासमा घुम्न आउने पर्यटकको मुख्य आकर्षण स्काइ साइकिलिङ बनेको छ । 

स्काइ साइकिलिङ गर्नेहरू ७० मिटर लम्बाइ र २० फुट उचाइमा रहेको एउटा टावरबाट अर्को टावरमा करिब तीनदेखि पाँच मिनेटमा पुग्न सक्छन्  । स्काइ साइकिलिङले समग्र कोइलाबास नाका र पर्यटकीय क्षेत्रको विकासमा महत्पूर्ण सहयोग पुग्ने विश्वास लिएको छ ।