• १५ असार २०८१, शनिबार

जुलियन असान्ज बेलायत जेलबाट रिहाः विकिलिक्स

blog

वासिङ्टन, असार ११ गते । जुलियन असान्ज अमेरिकी अधिकारीहरूसँग अपील सम्झौतामा पुगेपछि सोमबार बेलायत जेलबाट रिहा भएको विकिलिक्सले जानकारी गराएको छ । यो सम्झौताले असान्जको लगभग १४ वर्षको कानुनी सङ्घर्षको अन्त्य भएको छ ।

“जुलियन असान्ज स्वतन्त्र हुनुभएको छ“, विकिलिक्सले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गरायो ।  असान्ज संयुक्त राज्य अमेरिकाको सैन्य गोप्यताहरू खुलासा गरेको मुद्दामा जारी सपुर्दगीबाट बच्न पाँच वर्षसम्म बेलायतमा हिरासतमा रहनुभएको थियो ।

असान्ज स्थानीय समयअनुसार बुधबार बिहान अमेरिकी भूभागमा उपस्थित हुनुहुनेछ । उहाँलाई बेलायतको जेलमा पाँच वर्ष र दुई महिना सेवा गरेको श्रेयसहित ६२  महिनाको जेल सजाय हुने अपेक्षा गरिएको छ। यसपश्चात उहाँ आफ्नो देश अस्ट्रेलिया फर्कन सक्नुहुनेछ ।

सन् २०१० देखि वेबसाइट विकिलिक्सको प्रमुखका रूपमा लाखौँ गोप्य अमेरिकी कागजातहरू प्रकाशित गरेको आरोपमा वासिङ्टनले ५२ वर्षका प्रकाशकलाई खोजिरहेको थियो ।

अमेरिकाले असान्जलाई इराक र अफगानिस्तानमा भएको युद्धको बारेमा सैन्य गोप्यताहरू खुलासा गरेको आरोपमा मुद्दा चलाउन खोजेको हो ।

असान्जलाई सन् २०१९ मा अमेरिकी सङ्घीय ग्रान्ड ज्युरीले विकिलिक्सले राष्ट्रिय सुरक्षा कागजातको प्रकाशनबाट उत्पन्न भएको १८ वटा अभियोगमा दोषी ठहर गरेको थियो ।

असान्जको परिवारले उहाँको स्वतन्त्रताका लागि गहिरो कृतज्ञता व्यक्त गरेका छन् ।उहाँकी श्रीमती स्टेलाले अभियानकर्ताहरूलाई धन्यवाद दिँदै सामाजिक सञ्जाल एक्समा “शब्दहरूले हाम्रो अपार कृतज्ञता व्यक्त गर्न सक्दिन“ भनी लेख्नुभएको छ ।

असान्ज संयुक्त राज्य अमेरिकामा सपुर्दगी गर्ने निर्णयलाई अनुमोदन गर्ने फैसलालाई अपिल गर्न बेलायतको अदालतमा उपस्थित हुनु दुई हप्ता अघि सम्झौताको घोषणा भएको हो ।

असान्ज सन् २०१९ को अप्रिलदेखि लन्डनको उच्च सुरक्षा रहेको बेलमार्श जेलमा रहेका थिए ।

उहाँले सन् २००७ मा इराकमा अमेरिकी हेलिकोप्टरबाट गोली हानेर सर्वसाधारण मारिएको भिडियो प्रकाशन गर्नुभएको थियो ।  संयुक्त राज्य अमेरिकाले असान्जलाई १९१७ को जासुसी ऐनअन्तर्गत आरोप लगाएको हो ।

बेलायती सरकारले जून २०२२ मा अमेरिकी सपुर्दगीलाई स्वीकृति दिएको हो ।

उहाँले संयुक्त राज्य अमेरिकामा आफ्नो सपुर्दगीको विरूद्ध अपील गर्न सक्ने दुई बेलायती न्यायाधीशहरूले बताएका थिए ।

अमेरिकामा मुद्दा चलिरहेको विदेशीको रूपमा उहाँले अमेरिकी अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्राप्त गर्न सक्ने वा नसक्ने प्रश्नलाई सम्बोधन गर्न अपील गरिएको थियो ।

राष्ट्रपति जो बाइडेनको असान्जविरुद्ध लामो समयदेखि चलिरहेको मुद्दा खारेज गर्ने बढ्दो दबाबका बिच भएको यो अनुरोध सम्झौता पूर्ण रूपमा अप्रत्याशित थिएन । रासस/एएफपी