• १२ साउन २०८१, शनिबार

ठुला जहाज भित्र्याएर उडान प्रतिस्पर्धामा वायुसेवा कम्पनी

blog

काठमाडौँ, असार ११ गते । आन्तरिक उडान गर्दै आएका निजी वायुसेवा कम्पनीहरू ठुला जहाज भित्र्याएर सुगम गन्तव्यमा उडान प्रतिस्पर्धामा लागेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर आन्तरिकतर्फका गन्तव्यमा उडान गर्दै आएका निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयर, श्री एयरलाइन्सलगायतले सुगमको उडानमा प्रतिस्पर्धा गर्न लागेका हुन् । वायुसेवा कम्पनीबिचको उडान प्रतिस्पर्धाले यात्रुले समेत हवाई भाडा दरमा सहुलियत पाउने हवाई कम्पनीको दाबी छ । बिहीबार चितवनको भरतपुर विमानस्थलमा सफल परीक्षण उडान गरेको श्री एयरलाइन्सले भरतपुर, भद्रपुर र तुम्लिङटारमा उडान गर्ने तयारी गरिरहेको छ । 

श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले भन्नुभयो, “नयाँ गन्तव्यमा उडान सुरु गर्दै पुराना गन्तव्यमासमेत उडान सङ्ख्या बढाउन ८० सिट क्षमताको क्यु ४०० ड्यास एट जहाज नेपाल भित्र्याएका छौँ । यात्रुहरूको अत्यधिक चापलाई सहज गर्न तत्काल भरतपुर विमानस्थलमा हवाई सेवा विस्तार गर्न सफल परीक्षण उडान गरिएको छ ।”

यसअघि धनगढी, नेपालगन्ज सुर्खेतलगायतका गन्तव्यमा उडान विस्तारपछि यात्रुले सहुलियत हवाई भाडादरमा उड्न पाइरहेको जनाउँदै उहाँले गन्तव्य विस्तारसँगै यात्रुमैत्री उडानमा जोड दिएको उहाँले बताउनुभयो ।

श्री एयरलाइन्सले भारतका तीन गन्तव्यमा उडान गर्न अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमतिका लागि प्रक्रिया सुरु गरिसकेको उहाँले जानकारी दिनुभयो । हाल अन्तर्राष्ट्रिय चार्टर उडानको अनुमति पाएको श्री एयरलाइन्सले अन्तर्राष्ट्रियतर्फ व्यावसायिक उडानको अनुमति पाए काठमाडौँबाट भारतको कोलकता, अमलावाद र जयपुरमा उडान गरिने उहाँको भनाइ छ ।

यसै गरी बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने तयारी गरिरहेको छ । बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले ठुला जहाजबाट उडान भर्दा यात्रुले हवाई भाडामा सहुलियत पाउने बताउनुभयो ।

हाल १४ वटा एटिआर ७२ र तीन वटा एटिमार ४२ जहाजबाट देशका विभिन्न गन्तव्यमा उडान गर्दै आएको बुद्ध एयरले यसै साता थप एक जहाज नेपाल भित्र्याएर जहाजको सङ्ख्या १८ पु¥याउँदै छ ।

श्री एयरलाइन्ससँग ८० सिट क्षमताका सात वटा र चार वटा सिआरजे जहाज रहेका छन् । त्यस्तै कम्पनीले आठ वटा हेलिकोप्टरबाट सेवा दिँदै आएको छ ।