• १३ असोज २०८१, आइतबार

अध्यक्षद्वय शाह र सुवेदीद्वारा रासस तस्बिर अवलोकन

blog

काठमाडौँ, असार १० गते । नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाह तथा गोरखा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले राससमा राखिएको तस्विरको अवलोकन गर्नुभएको छ । 

गणतन्त्र दिवस –२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको आज उहाँहरुले अवलोकन गर्नुभयो । उहाँहरुले प्रदर्शनीमा रहेका तस्बिरले मुलुकमा विकास र पूर्वाधारका क्षेत्रमा काम भएन भन्न नमिल्ने प्रतिक्रिया दिनुभयो । 

अध्यक्ष शाहले भन्नुभयो, “देशको आर्थिक अवस्थाका आधारमा विकास र समृद्धि अघि बढ्छ । गणतन्त्रपछि आशा गरेअनुरुप उपलब्धि हासिल नभए पनि कुन क्षेत्रमा के–कति विकास निर्माणका काम भए भन्ने विषयमा जनतालाई जानकारी दिन प्रदर्शनीले महत्वपूर्ण भूमिका खेलेको छ ।”

तस्बिर अवलोकनपश्चात् गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीले पनि मुलुकमा राजनीतिक परिवर्तनसँगै विकासको गतिबारे तस्बिर प्रदर्शनीले मत्वपूर्ण सन्देश दिएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “गणतन्त्रपछि केही भएन भन्ने सुनिँदै आएको नकारात्मक भाष्यलाई चिर्ने प्रयास प्रदर्शनीले गरेको छ । सूचना प्रविधि, जलविद्युत्, सडक र शिक्षालगायत क्षेत्रमा भएका महत्वपूर्ण विकास पूर्वाधारसँग जोडिएका तस्बिर आफैँ महत्वपूर्ण छ ।”

उहाँले गोरखापत्र संस्थानले पनि तस्बिर प्रदर्शनी गरेको जानकारी दिनुभयो । “नेपाली पत्रकारिताको इतिहास भएकाले गोरखापत्र संस्थानमा प्रदर्शित तस्बिर दुर्लभ र पुराना छन्, त्यसको अवलोकनबाट तत्कालीन समाज, संस्कृति, जीवनशैली, राजनीति र तत्कालीन घटनालाई अहिलेका पाठक, दर्शक र पुस्ताले बुझ्न र शिक्षा लिन महत्वपूर्ण खुराकको काम गरेका छन्” उहाँले राससमा भने विकास निर्माणसँग सम्बन्धित तस्बिरले पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका विकासका गतिलाई देखाएको बताउनुभयो । यसैबीच नेपाल प्रहरीका निमित्त महानिरीक्षक दिपक थापाले पनि राससमा प्रदर्शित तस्बिरको आज अवलोकन गर्नुभएको छ । रासस