• १४ असार २०८१, शुक्रबार

अन्तरजातीय विवाह गर्नेलाई एक लाख

blog

अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरिदै । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, असार १० गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने एक जोडीलाई एक लाख नगदसहित सम्मान गरेको छ ।

नगरपालिकाको १९ औँ नगर सभाको अवसरमा एक लाख नगदसहित सो जोडीलाई सम्मान गरिएको हो । चौरजहारी नगरपालिका –२ निवासी लोकेन्द्र परियार र रोल्पाको परिवर्तन गाउँपालिका –३ निवासी खुमा के.सी.लाई नगदसहित सम्मान गरिएको हो । 

नगरपालिकाले ल्याएको अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत उहाँहरूलाई सम्मान गरिएको नगर प्रमुख पुष्प वादीले जानकारी दिनुभयो । 

उहाँका अनुसार अन्तरजातीय विवाह गरी सामाजिक सांस्कृतिक रूपान्तरणका लागि प्रशंसनीय एवम् अनुकरणीय कार्य गरेकाले उहाँहरूलाई सम्मान गरिएको छ । उहाँहरूले परिवर्तनशील एवम् विभेदजन्य कुसंस्कार अन्त्यका लागि चालेको कदमको उच्च प्रशंसा गर्दै प्रोत्साहन स्वरूप सम्मान गरिएको उहाँको भनाइ छ ।   

उहाँहरूलाई नगद, सम्मानपत्र, दोसल्ला र अबिरसहित नगर प्रमुख पुष्प वादी, उपप्रमुख ईश्वरी शर्मा बिएम र निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले सम्मान गर्नुभयो ।  

गत वर्षदेखि नगरपालिकाले यो कार्यक्रम गर्दै आएको छ । गत वर्ष अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई सम्मान गरिएको थियो ।