• १४ असार २०८१, शुक्रबार

बाढीपीडितलाई हटाएको भन्दै नगरप्रमुखद्वारा आपत्ति

blog

भजनी बजारक्षेत्र नजिक जङ्गलमा भत्काइएका घर टहरा ।

प्रकाशविक्रम शाह

धनगढी, असार १० गते । भजनीका नगरप्रमुख केवल चौधरीले वन डिभिजन कार्यालयले स्थानीय तहसँग समन्वय नगरी सो नगरका वडा १ र ९ मा बसिरहेका बाढीपीडितलाई हटाएकोमा आपत्ति जनाउन भएको छ । 

सो क्षेत्रमा बसेका नयाँ घर टहरा हटाउन ठिकै थियो, तर १८ वर्षदेखि बस्दै आएकालाई हटाएर बिचल्ली बनाउनु उपयुक्त नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारलाई जानकारी नदिएर बस्ती हटाउनु राम्रो होइन ।”

क्याम्पस, गौशाला चलिरहेको छ, तर त्यहीका बासिन्दालाई किन हटाइयो उहाँले प्रश्न गर्नुभयो । वन डिभिजन कार्यालय पहलमानपुरले बाढीपीडितका नाममा बस्दै आएका झण्डै पाँचसय परिवारलाई हटाएर २० हेक्टर ३० बिघा क्षेत्र खाली गराएको छ । 

सो क्षेत्रका मोहन्याल, पशुपति र वनदेवी सामुदायिक वनको समेत आग्रहमा ३५ र सात दिने सूचना जारी गरेर बाढी पीडितका नाममा जङ्गलमा बस्दै आएकालाई हटाइएको वन डिभिजन कार्यालयले जनाएको छ । 

वन कार्यालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा घर टहरा भत्काएको छ । वर्षातका बेला घर डुबान परे भनेर केही दिनलाई बस्न आएकाहरूले जङ्गल क्षेत्र खाली नगरेकाले हटाइएको हो, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक एवम् पदमबहादुर विष्टले बताउनुभयो । 

उहाँका अनुसार डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरको नेतृत्वमा घर टहरा भत्काउन थालिएको छ । सुरुमा जङ्गल क्षेत्र खाली गराउन समस्या उत्पन्न हुने देखिएको थियो । सुरक्षाकर्मीको मेहनतले त्यो समस्या समाधान भएको छ । उहाँले प्रायः सबैको घर जग्गा रहेको तर सो क्षेत्र बजारनजिक र बाढी नपस्ने उच्च ठाउँमा भएकाले कब्जा गर्न खोजिएको बताउनुभयो ।

भजनी बजार छेउमा रहेको जङ्गलमा सो नगरपालिकाका वडा ३, ५, ७ र ९ का बासिन्दा बाढी पीडित भन्दै बस्दैआएका थिए ।