• ३० वैशाख २०८३, बुधबार

अभिनेता हमालद्वारा तस्बिर प्रदर्शनीको अवलोकन

blog

नायक राजेश हमाल रासस केन्द्रीय कार्यालयद्वारा आयोजित तस्बिर प्रदर्शनी अवलोकन गर्नुहुँदै । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौँ, असार १० गते । अभिनेता राजेश हमालले राष्ट्रिय समाचार समिति (रासस)ले सधैँ सत्य तथ्य समाचार सम्प्रेषण गर्दै आएको बताउनुभएको छ । राससले केन्द्रीय कार्यालय भद्रकालीमा गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको अवलोकनपछि संक्षिप्त प्रतिक्रिया दिँदै अभिनेता हमालले राससद्वारा प्रदर्शित तस्बिरबाट विकासको तीव्रता झल्किएको पाएको उल्लेख गर्नुभयो । 

“विकास सधैँ अविरल पक्ष हो । जहाँ समय सापेक्ष परिवर्तन भइरहन्छ । निश्चित कालखण्डमा भौतिक विकासलाई विकासको मान्यता दिइन्छ भने त्यही विकासपछि नहुनसक्छ । त्यसैले विकासका बहुआयामिक पक्षको आत्मसाथ गर्दै देशको उन्नतितर्फ लाग्नुपर्छ”, उहाँले भन्नुभयो । आगामी दिनमा राससले यस्तै सकारात्मक र ऊर्जावान् भाव पैदा गर्ने क्रियाकलाप गर्दै जाने अभिनेता हमालले विश्वास व्यक्त गर्नुभयो । 

अभिनेता हमाल रासस आउनु हुँदा उहाँलाई कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रदर्शनीमा राखिएका तस्बिरबारे जानकारी गराउनुभएको थियो । गत जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी परिचालन, छिमेकी तथा अन्य मित्रराष्ट्रसमेतको सहयोगमा निर्मित एवम् निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनासँग सम्बन्धित तस्बिर समावेश छन् ।

वि.सं.२०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएको संरचनाको पुनः निर्माण, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत उत्पादनलगायत विषयमा राससबाट विभिन्न समयमा सम्प्रेषित ९५ तस्बिर प्रदर्शनीमा राखिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृति: हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो । रासस