• १५ असार २०८१, शनिबार

अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर

blog

तस्बिर:रासस

भेरीगङ्गा (सुर्खेत), असार १० गते । पार्वती गौतम शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ । उहाँको एउटा खुट्टाले काम गर्दैन । ४३ वर्षीया गौतमले जीवनमा धेरै सङ्घर्ष र दुःख गर्नुभयो । पार्वती अहिले सफल उद्यमी हुनुहुन्छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ मा व्यवसाय सञ्चालन गरिरहनुभएका उहाँ धेरैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।  

आमा मनमाया र बुबा देवनारायणको कोखबाट वि.सं.२०३८ साल भदौ १ गते काभ्रेपलान्चोकमा जन्मिनुभएका उहाँ जन्मजात अपाङ्गता हुनुहुन्थ्यो । उहाँको बाल्यकाल गाउँमै बित्यो । सानैदेखि दुःखमा हुर्किनुभएका पार्वतीले कक्षा पाँचसम्म मात्रै अध्ययन गर्न पाउनुभयो । शारीरिक अपाङ्गता भएकै कारण उहाँले पढ्न पाउनुभएन । विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्ने अवस्था थियो । त्यतिबेला अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री उपलब्ध थिएन । 

“सानोमा धेरै दुःख पाइयो,” उहाँ भन्नुहुन्छ, “मेरो पढाइप्रति कसैले चासो दिने थिएनन्, सबैले अपाङ्गता भएको व्यक्ति पढ्न सक्दैन भन्थे तर मैले जसोतसो कक्षा पाँचसम्म पढेँ ।” गौतमको परिवार बसाइँ सरेर वि.सं.२०५२ सालमा काठमाडौँ गयो । पार्वतीका बुबाको सरकारी जागिर थियो तर एक जनाको जागिरले घरखर्च चलाउन कठिन हुन्थ्यो । आमाको सहयोगमा उहाँले सिलाइको काम सिक्नुभयो । विवाह नगर्ने र आफ्नो सिलाइसम्बन्धी सीपले जीविका चलाउने सोच बनाउनुभएको थियो । 

सिलाइको कामबाट आम्दानी गर्दासमेत समाजले उहाँको कामलाई प्रशंसाभन्दा गलत नजरले हेर्ने गर्दथे । “पढ्छुभन्दा घरपरिवारले नमान्ने, केही काम गरेर खान्छुभन्दा समाजले नपत्याउने, मैले यो समाजका लागि केही गर्न सक्छु भन्ने सोच हुँदाहुँदै अपाङ्गताप्रति हेर्ने गलत दृष्टिकोणका कारण धेरै सङ्घर्ष र पीडादायी जीवन बाँच्नुपर्‍यो,” उहाँले विगत सुनाउनुभयो । जब सुर्खेतका योगेन्द्र पुरीसँग उहाँले विवाह गर्नुभयो । त्यसपछि एकाएक उहाँको जीवनले नयाँ मोड लियो । अनाथलयमा हुर्किनुभएका पुरीसँग विवाह गरेपछि एक्लै सङ्घर्ष गरिरहनुभएका पार्वतीले श्रीमानको सहयोग पाउनुभयो । 

पार्वती र उहाँका श्रीमान् सुर्खेत आउनुभयो । दुवै अपाङ्गता भएका व्यक्ति भएपनि उहाँहरूमा केही गर्न सक्छौँ भन्ने विश्वास कायम थियो । उहाँहरूसँग न त कुनै सम्पत्ति थियो, न त बस्ने ठाउँ । उहाँहरूले जीवनदेखि हार खानु भएन । पार्वतीले जब अपाङ्गता परिचयपत्र पाउनुभयो अनि केही सङ्घसंस्थाहरूको सहयोगमा उद्यमशीलता सम्बन्धी सीप सिक्नुभयो । उहाँले सिलाइदेखि मम बनाउने र पुष्टकारी चकलेट बनाउने जस्ता सीप सिक्नुभयो । त्यसपछि व्यवसाय सञ्चालन गर्ने योजना बनाउनुभयो । योजनाअनुसार व्यवसाय गर्न पैसा थिएन । 

“सिकेको सीपअनुसार व्यवसाय गर्छु भनेर योजना बनाएँ तर मसँग व्यवसाय सुरु गर्ने पैसा थिएन, मैले सुर्खेतस्थित परिलक्षित संस्थाबाट सहयोग पाएँ,” उहाँले भन्नुभयो । अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको परिलक्षित संस्थाले उहाँलाई आर्थिक सहयोग गरेपछि सिलाइसम्बन्धी व्यवसाय सुरु गर्नुभयो । व्यवसायबाट आम्दानी हुन थाल्यो । पैसाको दुखमा अभाव भोग्नुभएका उहाँहरूको जीवनमा नयाँ खुसी र उमङ्ग आउन थाल्यो । त्यही व्यवसायको कमाइले उहाँहरूले वीरेन्द्रनगरमा घर बनाउनुभयो । अहिले उहाँ मासिक ५० हजारभन्दा धेरै कमाउनुहुन्छ । छोराछोरी पढाउने र घर चलाउनलाई कुनै समस्या छैन । 

उहाँले भन्नुभयो, “जीवनमा सङ्घर्ष गर्नुपर्दो रहेछ, सफलता प्राप्त गर्न चुनौतीलाई सामना गर्नुपर्दो रहेछ ।” उहाँ अहिले सिलाइको कामसँगै मम र आलु चिप्स उत्पादन गरिरहनुभएको छ । पार्वतीले पुष्टकारी उद्योग सञ्चालन गर्ने योजना बनाइरहनुभएको छ । त्यसका लागि उद्योग दर्ता गरिसक्नुभएको छ । “सुर्खेतमा अहिलेसम्म काहीँ पनि पुष्टकारी उत्पादन भएको छैन,” उहाँले भन्नुभयो, “मैले यसको उत्पादनका लागि उद्योग दर्ता गरिसकेको छु, सुर्खेतबाट उत्पादन गरेर कर्णालीभर पुष्टकारी पठाउने योजना बनाएको छु ।” रासस