• १४ असार २०८१, शुक्रबार

कैलारी गाउँपालिकाको बजेट ७७ करोड २१ लाख रुपियाँ

blog

कैलारी गाउँपालिकाको कार्यालय ।

अविनाश चौधरी

धनगढी, असार १० गते । कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ७७ करोड २१ लाख १२ हजार रुपियाँको बजेट ल्याएको छ । 

सोमबार भएको गाउँ सभामा उपाध्यक्ष भगवतीकुमारी चौधरीले आगामी आर्थिक वर्षको अनुमानित आयव्यय प्रस्तुत गर्नुभएको हो । आयतर्फ सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १३ करोड ८२ लाख, राजस्व बाँडफाँट १३ करोड छ लाख, सशर्त कार्यक्रम ३८ करोड ६४ लाख आठ हजार गरी कुल ६५ करोड ५२ लाख १८ हजार रुपियाँ रहेको छ । 

यसैगरी, प्रदेश सरकारबाट समानीकरण अनुदान एक करोड २९ लाख ६० हजार, राजस्व बाँडफाँट ४५ लाख सात हजार, समपूरक अनुदान ९२ लाख, विशेष अनुदान ३० लाख रुपियाँ गरी कुल दुई करोड ९६ लाख ६७ हजार रुपियाँ प्राप्त हुने जनाइएको छ । 

यस्तै, गाउँपालिकाको आन्तरिक आम्दानी दुई करोड ६ लाख ५० हजार र चालु आर्थिक वर्षको बैङ्क मौज्दात ५० लाख रहने उपाध्यक्ष चौधरीले बताउनुभयो । गाउँपालिकाले कार्यालय सञ्चालनका लागि नौ करोड ३७ लाख २१ हजार, समपूरक कोषका लागि ६ करोड, बाँकी भुक्तानीका लागि ८० लाख, भूमिगत व्यवस्थापनका लागि ३० लाख, डिपिआरका लागि २० लाख, खेलकुद कार्यक्रमका लागि ३२ लाख रुपियाँ विनियोजन गरेको छ । 

यसैगरी, स्वास्थ्य बिमाका लागि आर्थिक सहयोग गर्न सात लाख, विद्युतीय सुशासन तथा सूचना प्रविधि कार्यक्रमका लागि सात लाख, अध्यक्ष रोजगार र उपाध्यक्ष समावेशी कार्यक्रमका लागि १५–१५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । 

गाउँपालिकाले आर्थिक विकास समितिका लागि एक करोड, सामाजिक विकास समितिका लागि चार करोड, वन वातावरण तथा विपत् व्यवस्थापनका लागि ५२ लाख, पूर्वाधार विकासमा एक करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । 

गाउँ सभामा गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।