• १३ असोज २०८१, आइतबार

मधेश सरकार सञ्चारमैत्री छ : मुख्यमन्त्री सिंह

blog

समाजवादी प्रेस संगठन नेपाल धनुषा शाखाद्वारा आयोजित कार्यक्तममा बोल्नुहुँदै मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, असार १० गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशको वर्तमान सरकार सञ्चारमैत्री रहेको बताउनुभएको छ । सोमबार प्रदेशको राजधानी जनकपुरधाममा समाजवादी प्रेस सङ्गठन नेपाल धनुषा शाखाद्वारा आयोजित समाजवाद र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेशका मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकार सञ्चारमैत्री रहेको दावी गर्नुहुँदै सञ्चारकर्मीहरुलाई ढुक्क हुन आग्रह गर्नुभएको हो ।

मुख्यमन्त्री सिंहले मधेशको सञ्चार क्षेत्रलाई थप सबल र सक्षम बनाउन प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा खोज पत्रकारिता र विमाको व्यवस्थासमेत गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पत्रकारिता क्षेत्र सङ्गठित नभएका कारण अफवाह विषयवस्तुका समाचार लिएर युट्युबर हावी हुँदै गएका छन्, त्यसकारण यस्ता चर्चा कमाउन गरिएका समाचारप्रति सञ्चाकर्मीहरु सचेत भई खोजमूलक र सत्यतथ्य समाचार सम्प्रेषण आवश्यक रहेका कारण प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा खोजमूलक पत्रकारिताको व्यवस्था समेत गरेको छ ।” 

सञ्चार क्षेत्रको सकारात्मक सोच र सकारात्मक विचारले सम्प्रेषण भएका सामाचारले प्रदेशको विकासमा असर पुग्ने बताउनुहुँदै मुख्यमन्त्री सिंहले सञ्चारकर्मीहरुलाई अफवाहको पछि नलागी सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । 

मन्तव्यकै क्रममा मुख्यमन्त्रीले प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट विनियोजनमा कर्मचारहरुले गरेका बदमाशी कारण रकम र शिर्षक फेरबदल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारमा नेता मात्र परिवर्तन भएका छन्, कर्मचारी उही छन् त्यसकारण हामीले बनाएको बजेटमा समेत हेरफेर भएको छ, बजेटमा कर्मचारीहरुले गरेका छेडखानीमाथि छानबिन भएरहेको छ।”

कार्यक्रमा वक्ताहरुले उठाएको लोकल्ययाणकारी विज्ञापनबारे मुख्यमन्त्रीले यस्तो भन्नुभयो, “विगतमा आर्थिक वर्षको अन्त्यमा हुने कार्यक्रम आफू नेतृत्वको सरकारले आर्थिक वर्षको सुरुवातमै सञ्चालन गर्ने छ, र लोक कल्याणकारी विज्ञापनमा कम भएको रकम परिपुर्ति गर्नेतर्फ अग्रसर हुनेछ ।” विगतका दिनमा आर्थिक वर्षको अन्त्यमा हतारमा काम गर्ने प्रवृत्तिको अन्त्य गर्ने मुख्यमन्त्री सिंहले बताउनुभयो । 

यस्तै, मुख्यमन्त्री सिंंहले समाजवाद, पूँजीवाद, उत्तरपन्थी र दक्षिण पन्थीको पछी नलागेर देश विकासका प्रमुख मुद्दाहरुका पछी लाग्न आग्रह गर्नुहुँदै देशको अवश्यकता पूजीँवाद की समाजवाद हो भन्ने बारे बुझ्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक राजनीतिक दलले समाजवादको नारा बोकेर अघि बढेका छन्, देशलाई समाजवादले मात्र पुग्छ की पूजीवाद पनि चाहिन्न भन्ने बारे बुझेर दुवै वादका राम्रा पक्षलाई आत्मसाथ गर्न जरुरी छ ।” 

कार्यक्रममा पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष राजेशकुमार कर्णले प्रेस स्वतन्त्रता भाषणमा मात्र लागु हुँदै आएको बताउनुभयो । उहाँले सत्ता बाहिर हुँदा प्रेस स्ततन्त्रता बारे उठाएका विषय कार्यान्वयन गर्न आग्रह गर्नुभयो । सञ्चारमैत्री वातावरण निर्माण गर्ने आवाज मात्र हैन लागु समेत हुनुपर्ने बताउनुहुँदै महासंघका प्रदेश अध्यक्ष कर्णले लोककल्याणकारी विज्ञापनमा छुट्याएको बजेटबारे पुन विचार गर्न आग्रह समेत गर्नुभयो । 

सङ्गठनका धनुषाका अध्यक्ष अकुलप्रसाद साहको अध्यक्षतामा आयोजित समाजवाद र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोबिन्द बहादुर न्यौपाने, नीति आयोग मधेश प्रदेशका सदस्य रामचन्द्र पण्डितलगायतको उपस्थिति थियो ।