बाबुराम शर्मा
दोलखा, असार १० गते । दोलखाको भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ मा सन्तान वृद्धिको कार्यक्रम अगाडि सारेको छ ।
आइतबार नगरका गाउँबस्ती पातलिँदै गएको भन्दै पाँचौँ नगर सभामा उपप्रमुख कमला बस्नेतले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक वर्षदेखि ‘तेस्रोदेखिको सन्तान, भीमेश्वरको वरदान’ उज्यालो भविष्य कार्यक्रम ल्याउने बताउनुभयो ।
जन्मदर घट्दै गएका कारण भर्ना दर घटेर सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भएको तथा गाउँबस्तीमा समेत मानिसको सङ्ख्या पातलो हुँदै गएका कारण यस्तो कार्यक्रम ल्याउन लागिएको उपप्रमुख बस्नेतले बताउनुभयो ।
यो कार्यक्रम लागु भएपछि भीमेश्वर नगरवासीले तेस्रो सन्तान जन्माउँदादेखि १० हजार रुपियाँका दरले बैङ्क खातामार्फत प्राप्त गर्ने छन् । नीति तथा कार्यक्रममा बस्ती जोगाउन तथा मानव सङ्ख्या बढाउन जनसङ्ख्या बढाउनुको विकल्प नभएको उल्लेख छ । नगरले ‘आगामी आव दिगो आम्दानी र स्वस्थ जीवन, जैविक कृषि उत्पादन’ भन्ने सोचका साथ नगरलाई जैविक र व्यावसायिक कृषिमा अग्रणी नगरका रूपमा विकास गर्ने नीति लिने भएको छ । कृषियोग्य क्षेत्र पहिचान गरी कृषि पकेट क्षेत्र तोकिने र हाल निर्धारण गरिएका पकेट क्षेत्रलाई विस्तार गर्दै लैजाने
नगरको योजना छ ।
नगरले एक वडा, एक पशु सेवा प्राविधिक’ व्यवस्था गर्ने नीति अनुरूप सबै वडामा पशु स्वास्थ्य जनशक्तिको व्यवस्था गरी गोठबारीमा नै पशु सेवा उपलब्ध गराउने योजनालाई नीति तथा कार्यक्रममा समेटेको छ । आगामी आवमा नगरपालिकाले ‘गुणस्तरीय सडक, सुरक्षित यातायात’ भन्ने सोचलाई सार्थक बनाउन दिगो सडक पूर्वाधार विस्तार गरी नगरवासीलाई भरपर्दो र सुरक्षित यातायातको पहुँच वृद्धि गर्ने नीति लिने भएको छ । नगर यातायात गुरुयोजनाले निर्धारण गरेका प्राथमिकता तथा बृहत् नगर योजना अनुसार यातायातका पूर्वाधार र सेवाका कार्यक्रम समयबद्ध रूपमा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरपालिकाले तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्यलाई समयमा नै सुरु गर्नका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । नगरप्रमुख ईश्वरनारायण मानन्धरको अध्यक्षतामा सम्पन्न नगर सभामा उपप्रमुख बस्नेतद्वारा प्रस्तुत नीति तथा कार्यक्रम छलफलपछि संशोधनसहित पारित गरिएको छ ।