फडिन्द्र अधिकारी
लेखनाथ, असार ९ गते। कास्कीको रुपा गाउँपालिकाले चालु आर्थिक वर्षभन्दा करिब नौ करोड घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याएको छ। आइतबार भएको १५ औँ गाउँसभामा उपाध्यक्ष लालसुवा गुरुङले ४६ करोड ७६ लाख ८२ हजारको बजेट पेश गर्नुभएको हो।
चालु आर्थिक वर्षमा रुपाको बजेट ५५ करोड ७२ लाख छ। आगामी वर्ष चालु खर्च ३१ करोड ९४ लाख ५७ हजार र पुँजीगततर्फ १४ करोड ८२ लाख २५ हजार खर्च हुने अनुमान छ। नेपाल सरकारबाट वित्तीय समानीकरणमा सात करोड ८९ लाख, राजस्व बाँडफाँडमा सात करोड १५ लाख, सशर्त अनुदानतर्फ २० करोड ८८ लाख ७ हजार र समपुरक अनुदानतर्फ एक करोड ४५ लाख प्राप्त हुने अनुमान छ।
गण्डकी प्रदेश सरकारबाट राजस्व बाँडफाँडबाट ४९ लाख ४ हजार, गण्डकीको समपुरक अनुदान ६० लाख, समानीकरण अनुदान ९४ लाख आठ हजार, विशेष अनुदान रकम ४० लाख, चालु आर्थिक वर्षको बाँकी पाँच करोड ३० लाख १३ हजार हुँदा आन्तरिक स्रोतबाट एक करोड ५६ लाख ५० हजार आय हुने अनुमान छ।
रुपाले कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकासलाई केन्द्रमा राखेको छ। आर्थिक विकासको क्षेत्रमा चार करोड नौ लाख, सामाजिक विकासतर्फ २२ करोड २० लाख बजेट विनियोजन गरिएको छ। सभामा उपाध्यक्ष गुरुङले शिक्षा क्षेत्रको लागि १६ करोड नौ लाख ३९ हजार, स्वास्थ्यमा चार करोड ४२ लाख ३१ हजार र पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्धनका लागि २० लाख विनियोजन भएको उल्लेख गर्नुभयो।
स्थानीय श्रम सीप र कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योग स्थापना र ती उत्पादित वस्तु बजारीकरणका लागि १५ लाख विनियोजन भएको छ। पालिकाभित्र एक घर, एक घार कार्यक्रमका लागि ५२ लाख बजेट छ। प्रशासकीय भवन निर्माणलाई एक करोड र रूपाकोट अस्पताल भवन निर्माणमा ५० लाख छुट्याइएको छ।
कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ आठ करोड ९५ लाख ७५ हजार बजेट छ। चालु वर्ष रुपाको वित्तीय प्रगति ५९ दशमलव ३६ प्रतिशत छ। आर्थिक वर्ष ०७९/०८० मा रुपाले ठूलो रकम आर्थिक सहयोगका रुपमा बाँडेको र पालिका स्थापना दिवसमा १८ लाख खर्च गरेकोमा प्रश्न उठाएकोमा पालिकाले यसपालि पनि ती कार्यक्रमलाई निरन्तरता दिएको छ। पाँच घाट टेन्डर हुन नसकेको र दुई घाट टेन्डर भएर पनि ठेक्का नलाग्दा ठूलो राजस्व गुमेकोमा यसलाई पनि बजेटले सम्बोधन गरेको छैन।