• १४ असार २०८१, शुक्रबार

नवलपुरका सबै नगरपालिकाको बजेट सार्वजनिक, सबैभन्दा धेरै कावासोतीको

blog

मध्यविन्दु नगरपालिका नगरसभा बैठक ।

बोमलाल गिरी

नवलपुर, असार ९ गते। नवलपुरका चारवटै नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को आयव्यायको विवरण सार्वजनिक गरेका छन्। कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, देवचुली नगरपालिका र गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्षको आयव्यायको विवरण सार्वजनिक गरेका हुन्। 

कावासोती नगरपालिकाले सबैभन्दा बढी १ अर्ब १९ करोड ९२ लाखको अनुमानित बजेट विनियोजन गरेको छ। विनियोजित रकममध्ये आन्तरिक श्रोतबाट ८ करोड १० लाख, नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान १७ करोड २० लाख, संघीय सरकारबाट राजश्व स्वरुप १३ करोड ४६ लाख प्राप्त हुने अनुमान गरिएको छ। 

त्यस्तै संघीय सरकारबाट ससर्त अनुदान स्वरुप ६६ करोड २२ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण दुई करोड ३८ लाख, सवारी साधन कर प्रदेश सरकारबाट दुई करोड ३८ लाख, घर जग्गा रजिष्ट्रेशनबा ६ करोड, विज्ञापन करबाट ६ लाख र नदीजन्य पदार्थ विक्रिबाट ३ करोड ६१ लाख प्राप्त हुने अनुमान गरिएको नगर उपप्रमुख फूलकुमारी थनेतले जानकारी दिनुभयो। 

त्यस्तै गैँडाकोट नगरपालिकाले एक अर्ब ७ करोड २७ लाख ७९ हजारको बजेट प्रस्ताव गरेको छ। आन्तरिक श्रोतबाट २८ करोड १७ लाख ११ हजार, संघीय सरकारको समानीकरण अनुदानबाट १५ करोड २५ लाख, संघीय राजश्व बाँडफाँडबाट १४ करोड ३० लाख, संघीय ससर्त अनुदानबाट ३९ करोड ८३ लाख ६८ हजार प्राप्त हुने प्रक्षेपण गरेको नगर उपप्रमुख पूर्णकला चौधरीले जानकारी दिनुभयो। 

मध्यविन्दुले चालु आर्थिक वर्षको असार ८ गतेसम्म आय ८० करोड, ६ लाख ८२ हजार रहेकोमा हालसम्मको कुल रकममध्ये ६१ करोड १० लाख ७१ हजार खर्च गरेको जनाएको छ। 

यस्तै गँैडाकोट नगरपालिकाले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १ अर्ब १ करोड ६७ लाख ९९ हजार विनियोजन गरेको छ। कुल बजेट मध्ये चालु खर्च तर्फ ६१ करोड १९ लाख ६६ हजार अर्थात ६० दशमलब १९ प्रतिशत रहेको छ। यसैगरि विकास निर्माण तर्फ पूँजीगत खर्च ४० करोड ४८ लाख ३३ हजार रहेको छ। जुन कुल बजेटको ३९ दशमलब ८१ प्रतिशत हो। 

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये संचित कोष र अन्य स्रोतहरुबाट ५ करोड ७१ लाख रुपँैया प्राप्त हुने प्रक्षेपण गरिएको नगर उपप्रमुख शान्ति कोइरालाले बताउनुभयो। आन्तिरिक राजश्वबाट १९ करोड ५३ लाख ७० हजार, संघीय सरकार र गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडबाट १५ करोड ८८ लाख ६४ हजार र अन्तर सरकारी वित्तिय हस्तान्तरण र अन्तर सरकारी अख्तियारीबाट ५८ करोड ४६ लाख ३० हजार रहने अनुमान गरिएको छ। 

देवचुली नगरपालिकाले ९१ करोड १४ लाख ३७ हजार ३ सय ६४ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरसभामा नगर उप प्रमुख पार्वता तिवारीले चालुतर्फ ५५ करोड १४ लाख ५३ हजार र पूँजीगत तर्फ ३५ करोड ९९ लाख ८३ हजारको आयव्यायको विवरण सार्वजनिक गर्नुभयो। 

जसमा सङ्घीय सरकारको सशर्त अनुदान ४० करोड ३१ लाख ९९ हजार, वित्तीय समानीकरण अनुदान १३ करोड ७० लाख, विशेष अनुदान ९० लाख र राजस्व बाँडफाँड ११ करोड ४८ लाख रहने अनुमान गरिएको छ। 

यसैगरी गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ८३ लाख ७० हजार र राजश्व बाँडफाँड बापत ५ करोड, विशेष अनुदानतर्फ ४० लाख र समपुरक अनुदानतर्फ ६० लाख रहने प्रक्षेपण गरिएको छ।