• १३ मंसिर २०८१, बिहिबार

विकासको बहस काम गरेर मात्रै पूरा हुन्छ : नेता रिजाल

blog

नेपाली कांगे्रसका नेता एवम् पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री डा.मीनेन्द्र रिजाल । तस्बिर:रासस

काठमाडौँ, असार ९ गते । नेपाली कांग्रेसका नेता एवम् पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री डा.मीनेन्द्र रिजालले विकासको बहस काम गरेर मात्रै पूरा हुने बताउनुभएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) द्वारा गणतन्त्र दिवसका अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुहुँदै उहाँले ठुला- ठुला विकास साना कामबाट हुने भएकाले त्यो देखाउन प्रदर्शनी सफल रहेको बताउनुभयो । गणतन्त्र नेपालको स्तम्भबाट प्रदर्शनी सुरु भएको उल्लेख गर्नुहुँदै नेता रिजालले पूर्वाधारमा महिलाको सहभागितालाई पनि प्रदर्शनीले समेटेर राम्रो सन्देश दिन खोजेको उहाँले बताउनुभयो । 

पूर्वमन्त्री रिजालले यी तस्बिरलाई श्रव्य दृश्यकै माध्यमबाट देखाउनसके अझ प्रभावकारी भई गणतन्त्रका उपलब्धि जीवन्तरुपमा जनसमक्ष आउने विचार व्यक्त गर्नुभयो । “गणतन्त्र स्थापनापछि भौतिक विकासले निकै फड्को मारेको छ । सुरुङ, सडक बाटो, सिँचाइ, जलविद्युत, सूचना तथा सञ्चार, स्वास्थ्य, शिक्षालगायत हरेक क्षेत्रमा काम भएका छन् । विकासको बहस काम गरेर पूरा हुन्छ बहस गरेर होइन भन्ने प्रष्ट पार्न पनि प्रदर्शनी सफल भएको छ । यसलाई श्रव्य दृश्यमार्फत जनसमक्ष देखाउन सके अझै राम्रो सन्देश जान्थ्यो”, उहाँले भन्नुभयो । 

तस्बिर प्रदर्शनीको आजै सूचना तथा प्रसारण विभागका महानिर्देशक बलराम रिज्याललगायतको टोलीले पनि अवलोकन गरेको छ । गत जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनी सोमबारसम्म चल्ने छ । रासस